इलाम । इलाम अस्पतालमा मृगौला रोगीहरुका लागि डाइलोसिस सेवा शुरु हुने भएको छ । रोटरी क्लब धरान र इलाम नगरपालिकाले इलाम अस्पताललाई आइतबार एक कार्यक्रमका बीच तीन थान डाइलोसिस मेशिन हस्तान्तरण गरेको हो । इलाम नगरपालिकाको १५ लाख रुपैयाँ र रोटरी क्लब धरानको २८ लाख ७५ हजार गरी ४३ लाख ७५ हजार रुपैयाँ बराबरको मेशिन अस्पताललाई हस्तान्तरण गरिएको रोटरी क्लब धरानको पूर्व उपाध्यक्ष कृष्ण शाहले बताए ।
मेसिन जिल्ला समन्वय समितिको नयाँ भवनमा राखिएको छ । त्यहि बाट सेवा दिइने अस्पतालले जनाएको छ । तीन वटै मेशिन जडान गरिसकिएको छ । सेवा सुरु गर्न जनशक्तिलाई तालिम दिनुपर्ने जनाएको छ । विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालिम दिइएपछि इलाम अस्पतालमा सेवा सुरु हुने इलाम अस्पतालका व्यवस्थापक क्षितिज खतिवडाले बताए। एक जना एचए र एक जना स्टाफ नर्सलाई तालिम दिनका लागि तयारी भइरहेको उनले बताए ।
एउटा डाइलोसिस मेशिनबाट चार घण्टामा एक जनाले सेवा लिन सक्नेछन् । तीन वटा मेसिन भए पनि एक पटकमा दुई जनालाई मात्रै सेवा दिन सकिने व्यवस्थापक खतिवडाले बताए । तीन मध्ये एक वटा मेसिन भने स्पायर राख्नुपर्ने हुन्छ, यसैले एक पटकमा दुई जनाले मात्रै सेवा पाउने उनले जानकारी दिए ।

सेवा शुरु भएपछि इलाम, पाँचथर, ताप्लेजुङ्ग, तेह्रथुमका बिरामीले इलामबाटै सेवा पाउनेछन् । इलाम अस्पतालमा सेवा शुरु भएपछि नियमीत डाइलोसिसको लागि तराई तथा अन्य जिल्लाका अस्पताल जानुपर्ने बाध्यता टर्नेछ । अहिले तीन वटा मेसिन जडान भएका छन् । भविश्यमा सात वटा मेसिन थप गरेर १० वटा बनाइने लक्ष्य रहेको पालिका प्रमुख तथा नेपाल नगरपालिका संघ एक नम्बर प्रदेशका संयोजक महेश बस्नेतले बताए ।
‘जर्मनी राजदुतबासले नेपाल नगरपालिका संघ मार्फत दुई सय वटा डाइलोसिस मेसिन दिने भएको छ, त्यस मार्फत प्राप्त सात वटा मेसिनको लागि हामीले आग्रह गरेका छौ, उनले भने ।’ ‘इलाममा मृगौला रोगीका लागि आवश्यक पर्ने डाइलोसिसको लागि उपकरण जडान भएपछि यसले मृगौला पिडीतको जीवनलाई सरल, सहज र लामो बनाउनेछ भन्नेमा हामी ढुक्क छौँ, उनले थपमा भने ।’
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले डाइलोसिस गर्ने उपकरण इलाममा जडान भएपछि पूूर्वी पहाडी क्षेत्रका बासिन्दाले ठूलो राहात मिल्ने बताए । ‘डाइलोसिस गराउनकै लागि तराईमा भएका अस्पताल या राजधानी जनुुपर्ने बाध्यता थियो, यसले अब त्यस्तो बाध्यता हटाउँछ’, प्रमुख बरालले भने ।
अस्पतालमा अहिले पनि विषेशज्ञ चिकित्सक लगायतका जनशक्तिको अभाव रहेको भन्दै उनले अन्य जिल्ला अस्पतालको तुलनामा इलाममा जनशक्तिको अवस्था राम्रो रहेको बताए । जिल्ला अस्पतालमा केही समय अघि मात्रै दुई वटा भेन्टिलेटर जडान गरिएको छ । अर्को एउटा भेन्टिलेटर समेत जडानको अन्तिम चरणमा रहेको बताइएको छ । यस अघि जिल्ला अस्पतालमा भेन्टिलेटर सुविधा नभएको अस्पतालको भनाई छ ।