Local Sandesh सोमबार, साउन ११ २०८३
  • ट्रेण्डिङ :

इलाममा धमाधम चलचित्रको छायांकन

इलाममा धमाधम चलचित्रको छायांकन

  • सन्देश सम्वाददाता
  • आइतबार, फाल्गुन ९ २०७७


इलाममा धमाधम चलचित्रको छायांकन

इलाम । चलचित्र छायांकनको लागि अब्बल मानिएको इलाममा लामो समयपछि चलचित्र छायांकन पुनः सुरु भएको छ । कोभिड–१९ का कारण चलचित्र क्षेत्र प्रभावित भएपछि सुनसान देखिएका इलामका पर्यटकीय क्षेत्रमा चलचित्रको छायांकन हुँदा यस क्षेत्रको रौनक नै बेग्लै देखिएको छ ।

कोरोनाका कारण लामो समय सुनसान रहेको इलामको चियाबगान, पानीटार, कन्याम, अन्तुलगायतका स्थानमा अहिले पर्यटकको चहलपहल बढेको छ । हराभरा चियाबारीसहित सुन्दर प्राकृतिक छटाबीच चलचित्र छायांकन हुँदा पर्यटन विकासले समेत फट्को मार्दै गएको छ । गीत र चलचित्रको छायांकनका लागि सुन्दर ठाउँ भएकाले इलामलाई रोजेको चलचित्रकर्मी बताउँछन् ।

‘कृष्णलिला’ चलचित्र निर्माणका लागि पुगेका निर्देशक दिपक ओलीले आफ्नो चलचित्रको लागि गाउँले परिवेशको सुन्दर स्थान आवश्यक भएकाले इलामलाई रोजेको बताउछन् ।‘नोटबुक’, ‘आप्पा’, ‘प्रेम दिवस’, ‘लभ स्टेसन’, ‘क्याप्टेन’, ‘म यस्तो गीत गाउँछु २’ लगायतका थुप्रै चलचित्रमा इलामको सुन्दरतालाई कैद गरिएका छन् ।

चलचित्रको पर्दामार्फत कैद भएका प्राकृतिक मनोरमको दृश्यले देश–विदेशमा समेत चर्चा कमाएको छ । इलाम चलचित्र छायांकनको हव बन्दा स्थानीय त दङ्ग छन् नै कलाकारहरू पनि नयाँ ठाउँ घुम्न पाउँदा खुसी देखिएका छन् ।आफूले भिडियो र चलचित्रमा देखेको ठाउँमा आउन पाउँदा निकै खुसी लागेको नायक पुष्प खड्का बताउछन् ।

‘पहिला अलि तलसम्म आएको थिएँ,’ उनले भने, ‘माथि आउँदा एकदमै रमाइलो लाग्यो, ठाउँ पनि अन्यन्तै सुन्दर र रमाइलो रैछ ।’चलचित्र मार्फत कुनै पनि स्थानको पर्यटन प्रवर्धनमा सहयोग पुग्नुका साथै त्यस ठाउँको रौनकता नै बढाइरहेको हुन्छ । चलचित्र निर्माण टोलीले इलामलाई प्राकृतिक स्टुडियोको रूपमा प्रयोग गर्न थालेपछि स्थानीय सरकार, स्थानीयवासी लगायत सरोकारवालाले आवश्यक पूर्वाधार विकासमा पनि ध्यान दिन आवश्यक छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार