इलाम । इलामको माङसेबुङ गाउँपालिका–५ लारुम्बा स्थित आत्मानन्द खेलमैदानमा जारी ११ औ संस्करणको पवित्रहाङमा कप अन्र्तगत महिला फुटबलमा माउण्ड एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी सेमी फाइनलमा प्रबेश गरेको छ । आज भएको खेलमा मोरङको सतिसाले एफसीलाई २–१ ले हराउँदै चतराले सेमीफाइनलको यात्रा तय गरेको हो ।
खेलको सुरुवाती अग्रता सतिसालेले लिएको थियो । खेलको ५ औ मिनेटमा कोपिला लिम्बुले आफ्नो टिमलाई अग्रता दिलाएकी थिइन् । १६ औ मिनेटमा पवित्रा राईले गोल गर्दै खेल बराबरीमा ल्याइन् । दोश्रो हाफमा सब्स्टीच्युटको रुपमा मैदान प्रवेश गरेकी रचना राईले ४९ औ मिनेटमा गोल गर्दै टिमको जीत सुनिश्चित गरिन् । । खेलको प्लेयर अफ दि म्याच चतराकी पवित्रा घोषित भइन् ।
त्यसैगरी आज नै भएको पहिलो खेलमा खदम स्र्पोटिङ क्लब मोरङलाई टाइब्रेकरमा हराउँदै धरान फुटबल क्लब सुनसरी समेत सेमीफाइनल प्रवेश गर्न सफल रहयो । किरात धर्मगुरुआमा साँवा पवित्रहाङमा लिङदेनको ६५ औं जन्मोत्सवको अवसरमा आयोजित प्रतियोगिता विहिबारदेखि सुरु भएको हो ।
प्रतियोगिता अन्तरगत शनिबार दुई सेमी फाइनल खेल हुनेछ । पहिलो खेल धरान फुटबल क्लब सुनसरी र रोयल स्र्पोटिङ क्लब दमकबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो खेल माउण्ट एभरेष्ट स्पोर्टिङ क्लब चतरा सुनसरी र ए.पि.एस.सी माङसेबुङबीच हुने छ ।