इलाम । खदम स्र्पोटिङ क्लब मोरङलाई टाइब्रेकरमा हराउँदै धरान फुटबल क्लब सुनसरी इलामको माङ्सेबुङमा जारी ११ औ संस्करणको पवित्रहाङ्मा कप अन्र्तगत महिला फुटबलको सेमीफाइनल प्रवेश गरेको छ । धरानले टाइब्रेकरमा ५–४ गोल अन्तरको जीत निकालेको हो । निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएको थियो ।
खेलको सुरुवाती अग्रता धरानले लिएको थियो । तेश्रो मिनेटमा नै समिक्षा मगरले धरानलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफको इन्जुरी समयमा ममता राउतले खेल बराबरीमा ल्याइन् । दोश्रो हाफमा दुवै टिमबाट गोल नभएपछि निर्णयको लागि टाइब्रेकरमा धकेलिएको थियो ।
अनिता लम्जेलको प्रहार गोल पोष्टमा लागेर बाहिरिएपछि खदम क्वाटरफाइनलबाटै बाहिरियो । खेलको प्लेयर अफ दि म्याच धरानकी समिक्षा घोषित भइन् । प्रतियोगिता अन्र्तगत अहिले दोश्रो खेलमा सतिसाले एफसी मोरङ र माउन्ट एभरेष्ट स्र्पोटिङ क्लब चतराबिचको खेल भइरहेको छ ।
महिला विजेताले नगद १ लाख एक सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार एक सय ६५ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६५ रुपैयाँ प्राप्त गर्नेछन् । आत्मा पवित्र हक्चात यक्चुम माङसेबुङ इलामको आयोजनामा सुरु भएको प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी र उदयपुर गरी ८ महिला टीमले सहभागीता जनाएका छन् । प्रतियोगिताको फाइनल आगामी फागुन २ गते हुनेछ ।