इलाम । प्रदेश नम्बर एकका भुमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री राम रानाले किसानहरुले परम्परागत रुपमा खेती गर्दै आएकाले उनीहरुलाई प्रविधि हस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन् । झापाको कमल गाउँपालिकाको आयोजना तथा कृषि ज्ञान केन्द्र झापा र आईपीएम आलु ब्लक सन्चालन समितीको व्यवस्थापनमा कमल गाउँपालिकामा सम्पन्न कृषि मेला प्रदर्शनी तथा आलु महोत्सव २०७७ को अवलोकन पछि आफ्नो मन्तव्यका क्रममा मन्त्री रानाले सो कुरा बताएका हुन् ।
त्यसैगरी कतिपय कृषि उपजहरु उत्पादन हुन साथ बिक्री नगरे बिग्रन सक्ने तर तत्काल बिक्री गर्दा किसानले लागत समेत उठाउन नसक्ने भएकाले उनीहरुलाई प्रविधि प्रदान गर्न सके प्रशोधन गरेर कृषकले आफ्नो उत्पादन बढी मुल्यमा बिक्री गर्न सकिने मन्त्री रानाले बताए । कृषकलाई कृषि परिचय पत्र उपलब्ध गराउने तयारी भैरहेको र त्यसैको आधारमा अनुदान लगायत सरकारका बाट उपलब्ध गराईने सेवा प्रदान गरिने समेत मन्त्री रानाले बताए ।
गाउँपालिकाले कृषकलाई विभिन्न किसिमको अनुदान दिएपछि पछिल्लो समय याहाँका कृषक कृषि पेशातर्फ लागेका हुन् । कृषकले उत्पादन गरेका बस्तुको मुल्याङ्कन गरी उत्कृष्ट कृषकलाई पुरस्कृत गर्ने जसले गर्दा कृषकमा थप उत्साह बढ्ने भएकोको गाउँपालिकाले प्रथम आलु महोत्सव तथा कृषि प्रदर्शनी गरेको कमल गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताइन् ।
गाउँपालिकाले कृषकलाई प्रोत्साहित गर्न कृषि मेला, किसान दिवश, विषादी मुक्त सप्ताह जस्ता कार्यक्रम सञ्चालन गरिरहेको छ । जसले गर्दा कृषि पेशातर्फ लाग्न कृषकलाई थप मद्धत पुग्ने कमल गाउँपालिकाका उपाध्यक्ष बेनु शिवाकोटी बताउँछन्। गाउँपालिकाले ७ औं गाउँसभाबाट कमल गाउँपालिकालाई आग्र्यानिक युक्त उत्पादन बनाउनकालागी निती, कार्यक्रम मै उल्लेख गरेको छ । कृषिलाई कसरी अर्गानिक बनाउने र कृषकलाई व्यवसायीक बनाउने भनेर कृषि गुरुयोजना तयार भइरहेको गाउँपालिकाका प्रमुख प्रसाशकिय अधिकृत सुवास श्रेष्ठ बताउँछन् ।
गाउँपालिकामा पहिलो पटक माटो परिक्षणका लागी डिजिटल मिनि ल्याव सञ्चालनमा ल्याएपछि कृषकलाई सहज भएको छ । हिजो सम्म माटो परिक्षणकालागी सुरुङ्गा र झुम्का सम्म पुग्नु पर्ने बाध्यता हटेको छ भने माटो अनुसारको वाली लगाउदा पनि कृषकले बढी उत्पादन गरेको कमल गाउँपालिका कृषि विकास शाखाका प्रमुख महेन्द्र बोहोरा बताउँछन् ।
कृषि ज्ञान केन्द्र झापा र गाउँपालिकाको सामान्य सहयोगमा सुरु गरिएको आलु पकेट कार्यक्रम अहिले ब्लकको रुपमा विस्तार भएको छ । कमल गाउँपालिकामा आलु विकासका कार्यक्रमकालागी पुर्वाधार विकासको तयारी पुरा हुने अवस्थामा पुगेको र १ सय १९ कृषकलाई ५० प्रतिशत अनुदानमा विभिन्न प्रकारको सहयोग गरेको आई।पि।एम। आलु ब्लक सन्चालन समितीका सचिव टंक कट्टेल बताउँछन् ।
कार्यक्रममा लहरे बालि तर्फ ३० जना, खाध्यन्न वालितर्फ १७ जना, आलु वालि तर्फ ३७ जना जरे बालि तर्फ १७ जना र फलफुल वालि तर्फ ११ जना ले कृषि मेला प्रदर्शनिमा माग लिएका थिए । प्रदर्शनीमा भाग लिएका मध्ये प्रत्यक समुह बाट प्रथम, द्वतिय , तृतिय र सान्त्वना गरी दुई दर्जन कृषकलाई पुरस्कृत गरिएको कृषि प्राविधिक प्रोम पोखरेलले जानकारी दिए ।