Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

११ औ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता माघ अन्तिम साताबाट

११ औ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता माघ अन्तिम साताबाट

  • सन्देश सम्वाददाता
  • शुक्रबार, माघ २३ २०७७


११ औ पवित्रहाङमा कप खेलकुद प्रतियोगिता माघ अन्तिम साताबाट

इलाम । ११ औं पवित्रहाङमा कप खेलकुद प्रतियोगिता आगामी माघ २९ गतेबाट सुरु हुने भएको छ । किरात धर्मगुरु आमा साँबा पवित्रहाङमा लिङ्देनको जन्मोत्सवको अवसरमा हरेक बर्ष माङ्सेबुङ गाउँपालिका–५ लारुम्बामा आयोजना हुँदै आएको प्रतियोगिता यस बर्ष कोरोनाको बावजुद पनि संचालन हुने भएको हो ।

‘हाम्रो पहिचान, राष्ट्रको शान र धर्मको महलमा किरात धर्म लेखौं, राष्ट्रिय जनगणना २०७८ सफल पारौं’ भन्ने नाराका साथ प्रतियोगिता आयोजना गरिएको बिहिवार आयोजित पत्रकार सम्मेलनमा आयोजक आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनप्रसाद आङबुहाङले बताए । प्रतियोगिताको मुख्य आर्कषणको रुपमा महिला गोल्डकप रहेको छ ।

जिल्लामा हरेक बर्ष महिला फुटबलको रुपमा पवित्रहाङमा कप अन्र्तगतको प्रतियोगिता मात्र रहेको छ । जहाँ विभिन्न टिमबाट राष्ट्रिय स्तरका प्रतिनिधित्व गरेका खेलाडीहरु समेत देख्न सकिन्छ । जन्मोत्सव समारोहका खेलकुद विभाग संयोजक तथा आत्मा पवित्र हक्चात यक्चुमको संयोजनमा हुने गोल्डकप प्रतियोगितामा इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, र पाहुना टोली दार्जिलिङ गरी ८ टीमको सहभागीता रहने छ ।

प्रतियोगितामा ए. पि. एस. सी. दार्जिलिङ भारत, रोयल स्पोर्टस क्लब दमक झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतरा सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद समिति इलाम, पञ्चकन्या एफ.सी उदयपुर, सतिसाले एफ. सि. मोरङ, खदम स्पोर्टिङ क्लब मोरङ र धरान फुटबल क्लब सुनसरीको सहभागिता रहने छ ।

प्रतियोगिताको उद्धघाटन खेलमा रोयल स्पोर्टस क्लब दमकले चुलाचुली गाउँपालिका खेलकुद विकास समितिसंग प्रतिस्पर्धा गर्नेछ । सोही दिन नै पञ्चकन्या एफ.सी उदयपुरले पाहुना टोली दार्जिलिङको सामना गर्नेछ । ११ औं पवित्रहाङमा कप विजेताले नगद १ लाख १ सय ६५ रुपैयाँ र उपविजेता टिमले नगद ५० हजार १ सय ६५ रुपैयाँ सहित मेडल र प्रमाणपत्र पाउने छन् ।

त्यस्तै सर्वाधिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट प्रशिक्षकलाई समेत पुरस्कार प्रदान गरिने छ । फाइनल खेल फागुन ३ गते हुनेछ । गुरुआमा पवित्रहाङमा लिङ्देनको ६५ औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा फागुन ३ गते प्रतियोगितामा विजेताहरुलाई पुरस्कार वितरण गरिने छ । प्रतियोगिता धार्मिक पर्यटकीयस्थल माङसेबुङस्थित आत्मानन्द खेलमैदानमा सञ्चालन हुने छ ।

प्रतियोगितामा महिला फूटबलका साथै म्याराथुन, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्ने, फूलमाला दौड, गाग्री भर्ने दौड, चम्चा दौड (१५ वर्ष मुनि), कराँते लगायतका खेलहरु सञ्चालन हुने छ । इलामको माङसेबुङमा पवित्रहाङमा महिला गोल्डकप २०६७ यता हरेक वर्ष साँबा पवित्रहाङमा लिङ्देनको शुभ जन्मोत्सवको अवसरमा सञ्चालन हुँदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार