सन्दकपुर । इलामको उत्तरी क्षेत्र सन्दकपुर गाउँपालिकाको ८ औ गाउँसभा विविध निर्णय गर्दै सम्पन्न भएको छ । गाउँपालिका अध्यक्ष उदयबहादुर राईको अध्यक्षतमा भएको सभामा प्रस्तुत भएका निर्देशिका र कार्यविधिहरुलाई पारित गर्दै सम्पन्न भएको हो । हालसम्म गाउँपालिकामा देखिएको बेरुजु फर्छयौटका लागि छलफल गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष तथा विधान समितिकी संयोजक शोभा पराजुलीले प्रस्तुत गरेको नविकरणीय उर्जा सम्बन्धी निति २०७७ लाई पारित गरिएको छ । विगतको समयमा कार्यपालिकामा पेश गरिएको आर्थिक सहायता सम्बन्धी कार्यविधि २०७६, पुराना भवनहरुको व्यवस्थापन तथा अभिलेखिकरण निर्देशिका, कर्मचारी र प्राविधिक फिल्ड कार्यविधि समेत पारित भएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले जानकारी दिए ।

चालु आर्थिक बर्षमा भएका निर्णयहरु गाउँसभामा जानकारी गराइएको छ । गाउँपालिकाको आम्दानीको आन्तरिक श्रोतहरुको परिचालनबाट हालसम्म भएको उपलब्धी र भुमिका माथि चर्चा एवम समिक्षा गरिएको छ । गाउँसभामा वडा सदस्यहरुले विकास निर्माण, आर्थिक संचालन लगायत विविध बिषयहरुमाथी बिचार राखेका थिए । गाउँसभा माघ ११ र १२ गतेको लागि तय गरिएको थियो ।
