इलाम । साहित्यकार विष्णु नवीनको ८३ औं जन्मजयन्तीको अवसरमा इलाम सदरमुकाममा शुक्रबार ‘इलामको साहित्यिक इतिहास नामक ’ विमोचन गरिएको छ । डा देवी क्षेत्री दुलालले लेखेको पुस्तक नवीनको जन्मजयन्तीको अवसरमा विमोचन गरिएको हो । साहित्यकार प्रा.डा वद्रीविशाल पोखरेल, जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बराल र साहित्यकार देवी पन्थीलगायतले डा क्षेत्रीको १८ औं कृति संयुक्त रूपमा विमोचन गरे ।
पुस्तकमा इलाममा जन्मथलो र कर्मथलो बनाएका साहित्यकारबारेमा जानकारी गराउनुका साथै उनीहरूका कृतिका बारेमा जानकारी गराइएको छ । इलामे इतिहासमा भएका कार्यक्रम एवं स्रस्टाका सिर्जनाका बारेमा पुस्तकमा डा क्षेत्रीले चर्चा गरेका छन् ।
कार्यक्रममा डा क्षेत्रीले ठूलो प्रयत्नपछि पुस्तक लेखेर बजारमा ल्याएको भन्दै वक्ताहरूले चर्चा गरेका छन् । विमोचित कृतिको ‘इलामका स्रष्टा र सिर्जना’ परिच्छेदमा २ सय ५५ साहित्यकारको संक्षिप्त परिचय उल्लेख छ । सन्त ज्ञानदिल दासदेखि अहिलेसम्मका फुटकर सिर्जना लेख्ने साहित्यकारसमेत उनको कृतिमा अटाएका छन् ।
नवीनको जन्मजयन्तीको अवसरमा इलामको सदरमुकामस्थित क्याम्पस रोडमा रहेको विष्णु नवीनको प्रतिमामा माल्यापर्ण गरिएको थियो । नेपाली साहित्यमा नवीनको साहित्यिक योगदान अतुलनीय रहेको भन्दै साहित्यकार, पत्रकार एवं नवीनको परिवारजनले प्रतिममा अविर र माला लगाएर सम्झिएका थिए ।