इलाम । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङको कप्तानीमा उत्रिएको राउन्डग्लास पन्जाब फुटबल क्लब पराजित भएको छ । आई लिग अन्र्तगत आफ्नो तेश्रो खेलमा चर्चिल ब्रदरसंग पञ्जाव १–० ले पराजित भएको हो ।
कोलकत्ताको साल्टलेक रंगशालामा भएको खेलमा चर्चिललाई जित दिलाउन क्लेभिन जुनिगाले निर्णायक गोल गरे । खेलको ८५ औ मिनेटमा डिफेन्डर हम्जा खेरको क्रस पासमा पन्जाबका डिफेन्डरलाई चिर्दै जुनिगाले पेनाल्टी एरियाबाट गोल गरेका थिए । जितसगै ३ खेलबाट २ जित र १ बराबरी गरेको चर्चिलले ७ अंकका साथ शिर्षता कायमै राखेको छ ।
हारसंगै ३ खेलबाट ३ अंक बटुलेको पन्जाव सातौ स्थानमा झरेको छ । किरणको कप्तानमा पन्जाब दोश्रो पटक पराजित भएको हो । यसअघि गोकुलम केरालासंग ४–३ ले पराजित भएको थियो । केराला विरुद्ध पहिलो हाफमा ३–१ ले अग्रता लिएको पन्जाबले दोश्रो हाफमा ३ गोल व्यहोरेको थियो ।