फिक्कल । सूर्योदय नगरपालिकाले चालु आर्थिक बर्षमा विपन्न एकल महिला र दलित परिवारको स्वास्थ्य बिमा सुरु गरेको छ । नगरपालिकाले पहिलाे चरणमा २६१ घर परिवारकाे बिमा गरिदिएकाे हाे । जसमा नगर क्षेत्रका २०४ विपन्न एकल महिला र ५७ विपन्न दलित परिवारका १ हजार ५९ जना लाभान्वित हुने नगर प्रमुख रणबहादुर राईले जानकारी दिए ।
नगर प्रमुख राईका अनुसार प्रत्येक आर्थिक बर्षमा वडा वडामा कार्यक्रम लगिने छ । २०७५/७६ को आर्थिक बर्षमा वडा नम्वर–४ को गुनासो चौतारी कार्यक्रमबाट उठेको सवाललाई सम्बोधनका रुपमा विपन्नको लागि स्वास्थ्य बिमा कार्यक्रम सुरु गरिएको राईले बताए । ‘हामी जनताको गुनासो सुन्छौं र त्यहि गुनासोलाई समेटेर विभिन्न विषयमा बजेटसम्म विनियोजन गर्छौं। विपन्न एकल विधवा महिलाहरूलाई स्वास्थ्य वीमा गराईदिने कार्यक्रम पनि यसैको परिणाम हो।’ राईले भने