Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

स्थानीय तहका केन्द्रमा सहरीकरण बढेसँगै घडेरी खरिदबिक्रि बढ्यो

स्थानीय तहका केन्द्रमा सहरीकरण बढेसँगै घडेरी खरिदबिक्रि बढ्यो

  • गंगा पराजुली
  • मंगलबार, पौस ७ २०७७


स्थानीय तहका केन्द्रमा सहरीकरण बढेसँगै घडेरी खरिदबिक्रि बढ्यो

फिक्कल । ६७ वर्ष अघि स्थापना भएको नयाँबजार क्षेत्रमा अहिले सहरीकरण बढ्दै गएको छ । नयाँबजार, प्याङ, नामसालिङ र सोयाङ गाविस गाभिएर बनेको माईजोगमाई गाउँपालिकाको केन्द्र हो, नयाँबजार । स्थानीय तहको केन्द्र भएपछि नयाँबजार क्षेत्रको आकार बढेको मात्रै छ्रैन जग्गाको खरिद बिक्रि पनि निक्कै चम्किएको छ । सन्त बालागुरुले स्थापना गरेको बजार क्षेत्रको अहिले ढल निकास र पक्कि सडक बनाउने काम धमाधम समेत भएको छ ।

उत्तरी इलामको किनमेलको बजार रहेको नयाँबजार क्षेत्रमा अहिले घरहरु निर्माण बढ्नुका साथै हरेक वर्ष १५ देखि २० परिवार बसाई सरी आउने क्रम बढेको छ । ६ वडा रहेको माईजोगमाईको केन्द्र नयाँबजारमा जग्गाको भाउ अहिले केन्द्र बन्नु अघिको तुलनामा चार गुणा बढेको बजार व्यवस्थापन समितिका अध्यक्ष आङपासाङ शेर्पाले बताए ।

‘पुरानो बजारमा विकास पनि भएको थिएन ।’ शेर्पाले भने ‘हिउँदमा धुलो र बर्षातमा हिलो भएको नयाँबजार क्षेत्रमा अहिले व्यवस्थित गर्न ढल निकास र कालोपत्रे गर्ने काम थालिएपछि जनताले पनि पूर्वाधार विकासको अनुभुति पाएका छन् ।’ नयाँबजार क्षेत्रमा स्थानीय तहको केन्द्र घोषणापछि जग्गाको भाउ आकासिएको छ ।

स्थानीय राजनीतिकर्मी बिजय राईका अनुसार नयाँबजार क्षेत्र वरिपरि रोपनीमा चल्दै आएको जग्गा अहिले आनामा चल्न थालेको छ । ‘केन्द्र घोषणा अघि बजार क्षेत्र आसपास प्रति आना दूई लाखमा बिक्रि भएपनि अहिले चार लाख रुपैयामा भल्दै आएको छ ।’ राईले भने–‘ वर्षको २० वटासम्म नयाँ घर निर्माणले तिब्रता पाएको छ ।’

नयाँबजार क्षत्रेमा बसाई सर्ने अधिकासं गाउँपालिका भित्रकै रहेको गाउँपालिका अध्यक्ष जितबहादूर राईले बताए । ‘गाउँपालिकाको केन्द्र भएपछि विकासको गति पनि तिब्रता पाएकाले जनता सुविधा खोज्दै सहर पस्दै आएको छन्– राईले भने –‘आन्तरिक बसाईसराई बढेपनि अन्तर जिल्ला बसाइसराई रोकिएको छ ।’

जिल्लाको उत्तरी क्षेत्रको पर्यटकीय गाउँपालिका सन्दकपुरको केन्द्र रहेको देउराली बजारले अहिले सहरीकरणको रुप लिएको छ । माईपोखरी, सुलुबुङ, जमुना, माईमझुवा, माबु गाविस गाभिएर बनेको सन्दकपुरको केन्द्र देउरालीमा अहिले जग्गा किनबेच बलेको गाउँपालिका अध्यक्ष उदय बहादूर राईले बताए ।

‘लेकाली क्षेत्रमा पर्ने सन्दकपुरको केन्द्र रहेको देउराली पुरानै बजार भएपनि पहिला जग्गाको भाउ थिएन ‘– अध्यक्ष राईले भने–‘ केन्द्र घोषणा अघि ५० हजार रोपनीमा बिक्रि भएको जग्गाको दाम अहिले ५ लाख बढी छ ।’ गाउँपालिकाले देउराली बजारलाई प्रदेश एक सरकारको समन्वयमा स्मार्ट सिटि बनाउने योजना बनाएपछि झनै जग्गाको किनबेच बढेको छ । स्मार्ट सिटि निर्माणका लागि अहिले गुरुयोजना निर्माणको चरणमा छ ।’

अध्यक्ष राई भन्छन् ‘ हावापानी चिसो भएपनि घडेरी किनेर घर निर्माण गर्नेको संख्या बढेको छ ।’ क वर्गको र्बैक, १५ बेडको अस्पताल, बृहत खानेपानी योजना र व्यवस्थित ढल निकाससँगै फोहोर मैला व्यवस्थापनको काम प्रदेश र संघीय सरकारसँगको समन्वयमा अघि बढेपछि जनताको देउरालीमा आकर्षण बढेको उपाध्यक्ष सोभा पराजुलीले बताइन् ।

विकासको तिब्रताले जनतामा गाउँमै पूर्वाधार बन्ने आसमा देशका ठुला सहर सर्ने योजना बनाएकाहरु अहिले पालिकाको केन्द्रसम्म पुगेर बसोबास गर्ने योजना बनाएका छन् । स्थानीय पत्रकार युवराज पौडेल भन्छन् –‘लेकाली क्षेत्रका खेतबारीमा खाध्यबाली मात्रै उत्पादन हुन्थ्यो आम्दानी थिएन, अहिले जग्गाको भाऊ आएपछि स्थानीयबासीमा खुशियाली छाएको छ ।’

सहरीकरण बढ्दै गएपछि देउराली बजार क्षेत्रमा २२ करोडको लगानीमा वृहत खानेपानी आयोजना स्वीकृत भइ निर्माणको चरणमा पुगेको छ । संघीय सरकारले निर्माण गर्ने खानेपानी योजना उपभोक्ताले बेहोर्नुपर्ने रकम संकलनको काम हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
दक्षिणी चुरे क्षेत्रको स्थानीय तह माई नगरपालिकाको केन्द्र रहेको सितली क्षेत्रमा जग्गाको भाउ दोब्बर भएको छ । सितली क्षेत्रमा २ लाख आना कारोबार हुदै आएको जग्गा ४ लाख पुगेको छ । ‘२०२८ सालमा स्थापना भएको सितली बजारमा नगरपालिकाको अपिस भएपछि जग्गाको भाउ मात्रै बढेको छैन सहरीकरण बढ्दै गएको छ ।

स्थानीय पत्रकार तेजबहादूर घिमिरेल भन्छन् ‘दिन दुई गुना रात चौगुणा जसरी जग्गाको भाउ बढ्दै गएको र पक्कि घर निर्माणले तिब्रता पाएको छ । सतली बजारमै गरुवा बहुमुखि क्याम्पस, नगरपालिकाको केन्द्र रहेको र इलामसदरमुकामदेखि झापाको खुदुनाबारी जोड्ने छोटो बाटो कालोपत्रे शुरुले घर निर्माणमा तिब्रता पाएको हो ।’

झापासँग सीमा जोडिएको माई नगरपालिका क्षेत्रका सर्वसाधारण सेवा सुविधाको खोजीमा बिर्तामोड झर्दै आएका थिए । ‘गाउँकै केन्द्रको संभावना पहिल्याएर अहिले बसाई सरेर झापा जान खोज्नेहरुले सितलीमा घर र घडेरी जोड्दै छन् ।’ कार्यपालिका सदस्य राजेन्द्र धमलाले भने । सितलीमा गाउँपालिकाको केन्द्र बसेपछि नजिकैको सुक्रबारे बजारमा पनि पक्कि घर र घडेरी जोड्ने संख्या बढेको स्थानीय सुजन ढकालले बताए ।

शुक्रबारे बजार २०४४ सालमा स्थापना भएपनि सहरीकरण बढ्दै गएको छ । ‘झापा जोड्ने सडक कालोपत्रे शुरु भएपछि नगरबासीले एक बसाईसराईको योजना बनाएको बुझिदैन ।’ नगर उपप्रमुख बिष्णुमाया रिमालले भनिन् ‘सडक कालोपत्रे भएपछि एक घण्टामा झापाको भद्रपुर एयरपोर्ट पुगिने भएपछि झापा बसाई सर्ने क्रम रोकिएको हो ।’

पर्यटकीय नगर सूर्योदयको केन्द्र रहेको फिक्कल बजार आसपासमा घर निर्माण बढेको छ । अन्तु, कन्याम, पशुपतिनगर लगायतका पर्यटकीय क्षेत्रहरु सूर्योदयमै परेपछि जग्गाको भाउ पनि आकासिएको छ ।  मेची राजमार्गको आसपास,फिक्कल पशुपतिनगर सडक क्षेत्रमा व्यापारीक र पर्यटन व्यवसाय गर्ने हिसाबले घडेरी बिक्रि तिब्र रुपले हुँदै आएको छ ।

सूर्योदय नगर उद्योग बाणिज्य संघका सदस्य सुजन तिमसिनाले भने ‘जग्गाको भाउ बलेको मात्रै छैन, घर निर्माण गरि होटल व्यवसाय संचालन गर्नेको संख्या अत्याधिक छ ।’ सूर्योदयको केन्द्र रहेको फिक्कल बजार साघुरो भएपछि बरबोटे र शान्तिचोक क्षेत्रमा जग्गा किनेर घर बन्ने क्रम बढेको तिमसिनाले बताए ।

नगर भित्रको कालोपत्रे सडकले छोएको स्थानमा प्रतिआन ५ लाखदेखि आठ लाखसम्ममा बिक्रि हुँदै आएको छ । नगरपालिकाको केन्द्र हुनु अघि यहाँ प्रतिआना २ लाख देखि ३ लाखसम्ममा बिक्रि हुँदै आएको स्थानीय होटल व्यवसायी प्रविन तिमसिनाले बताए ।

इलामका १० स्थानीय तहमध्ये सदरमुकाम रहेको इलाम नगरपालिका बाहेकका स्थानीय तहमा पालिकाको केन्द्र घोषणा भएपछि सहरीकरण बढ्नुका साथै घर जग्गा खरिद बिक्रि बढेपछि स्थानय तहको राजश्वमा पनि वृद्धि भएको छ । अन्तर जिल्लाबाट बसाई सरी आउनेको संख्या नभएपनि पालिका भित्रका वडाहरुबाट केन्द्रमा बसाई सर्नेको संख्या बढ्दै गएको जिल्ला समन्वय समिती प्रमुख गणेश बरालले बताए ।

‘सरकारी कार्यालय, अस्पताल, वित्तिय संस्था र अस्पताल लगायत पूर्वाधार निर्माणको काम भएपछि मानिसको बसाइसराई रोकिएको छ ।’ बरालले भने–‘ जिल्ला सभाले सहरीकरणको संभाब्यता अध्ययन गरेर पूर्वाधार निर्माण गर्न र व्यवस्थित सहरीकरणको अवधारण अघि सारेपछि पालिकाहरुले कालोपत्रे सडक निर्माण, विद्युतिकरण र खानेपानी आयोजना निर्माणको काम पनि गर्दै आएका छन् ।’

सर्वसाधारणले पालिकाको केन्द्रहरुमा हुँदै गरेको विकास हेरेर जग्गा खरिदबिक्रि गर्ने र व्यवसायीक हिसावबा भवनहरु पनि निर्माण गर्दै आएको बरालको भनाइ छ । इलाम सदरमुकामबाट धेरै सरकारी कार्यालयहरु सबै पालिकाहरुमा छरिएपनि अहिले शैक्षिक अध्ययनको थलो भएका हिसाबले मानिसहरुको केन्द्रिकरण बढ्दै गएको नगरप्रमुख महेश बस्नेतले बताउँछन् ।

‘पालिकाहरु गठन भएपछि सरकारी कार्यालयहरु छरिएपनि इलाम नगरपालिकाको संभावना देखेर मानिसहरु बसाई सरी आउनेको संख्या बढेको छ ।’ नगर प्रमुख बस्नेतले भने –‘बिकेन्द्रिकरण भएपछि सदरमुकामको संभावना छैन भन्ने धेरै हल्ला भएपनि अहिले बार्षिक नक्सापास गरेरै २ सय घर निर्माण भइरहेको तथ्याङ्क छ ।’

इलाम सदरमुकाममा पाँचथर र ताप्लेजुङ्गबाट बसाई सरी आउनेको संख्या बढी रहेको प्रमुख बस्नेतको भनाइ छ । ‘हामी नगरपालिकाका भित्र वृहत खानेपानी, व्यवस्थित सहरीकरण, कृषि र पशु बजारको विस्तारको काम गर्दै आएको छौ ।’ बस्नेत भने–‘पहिलेको जस्तो जग्गाको भाउ चर्को नभएपनि किनबेच बढेको छ र घर निर्माण पनि तिब्रताका साथ हुँदै आएका छन् ।’ पुरानो महेन्द्र रत्न बहुमुखि क्याम्पस, ५० बेडको अस्पताल रहेको र पर्यटकीय क्षेत्र भएकाले इलाम सदरमुकामको संम्भावना अधिक भएकाले नै मानिसहरु बसाई सरी आउनेको संख्या बढेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार