फिक्कल । लोपोन्मुख लाप्चा जातिको नामवन अर्थात नववर्ष पर्वका दिन नगरभरी स्थानीय विदा दिने भएको छ । सूर्योदय नगरपालिकाको आर्थिक बर्ष ०७७÷७८ को लैंगिक समानता तथा समावेशीकरण नीति अन्र्तगत पौष ६ गते नगरभरि विदा दिइएको सूर्योदय नगरपालिकाले जनाएको छ ।
सातौ नगरसभाबाट लाप्चा जातिको नयाँ बर्षमा विदा दिने निर्णय गरेको थियो । नेपाल आदिवासी जनजाती महासंघ नगर समन्वय परिषद (नेफिन) ले निर्णयलाई सकारात्मक कदमको रुपमा स्वागत गरेको छ । अध्यक्ष सोनाम योल्मोले विज्ञप्ती जारी गर्दै संघीयताको असल कार्यान्वयनसंगै ऐतिहासिक विभेदबाट पिरोलिएका लोपोन्मुख लाप्चा जातिको मुहारमा खुशीयाली छाएको बताए ।
नेपाल सरकारद्वारा आदिवासी जनजाती प्रतिष्ठान ऐन २०५८ अनुसार सूचिकरण भएका ५९ जातिहरु मध्ये लाप्चा पनि एक हो । सरकारको वर्गिकृत पाँच सुची अनुसार लोपोन्मुख समूहको दश जाति मध्ये एकमा पर्ने लाप्चाहरुले आफ्नो चाड पर्वले पहिचान बोकेको ठान्छन् ।
लाप्चा उत्थान मञ्चको २०७५ को सर्भे अनुसार इलाममा ३ हजार ६० जना लेप्चा रहेका छन् । इलामको सुर्योदय नगरपालिका, रोङ गाउँपालिका, इलाम नगरपालिका र माइजोगमाई गाउँपालिकामा लेप्चा समुदायको बसोबास रहेको छ ।
