Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामपछि कोरोनाको उच्च जोखिममा माई नगरपालिका

इलामपछि कोरोनाको उच्च जोखिममा माई नगरपालिका

  • नमीन ढकाल
  • सोमबार, मंसिर २२ २०७७


इलामपछि कोरोनाको उच्च जोखिममा माई नगरपालिका

माई । झापाको ३ वटा स्थानीय तहसंग सिमाना जोडिएको इलामको दक्षिणी क्षेत्र माई नगरपालिकामा कोरोना संक्रमणको दर तिव्र रुपमा बढ्दै गएको छ । औषतमा गरिएको परिक्षणको दर हेर्दा भारतसंग सिमाना जोडिएको सूर्योदय नगरपालिका भन्दा पनि झापासंग सिमाना जोडिएको माई नगरपालिका उच्च जोखिमयुक्त क्षेत्रको रुपमा देखिन्छ । जिल्लाको सबैभन्दा बढि संक्रमित भएको इलाम नगरपालिका पछि माई दोश्रो उच्च जोखिमयुक्त क्षेत्र हो ।

इलाममा १ हजार ७ सय ७३ जनाको परिक्षण गर्दा १२३ जनामा संक्रमण देखिएको थियो । जुन कुल परिक्षण गरिएको मध्ये ६.९३ प्रतिशत संक्रमित भेटिएका हुन् । यता माई नगरपालिकामा ६५१ जनाको परिक्षण गर्दा ३७ जना संक्रमित भेटिए । जुन कुल परिक्षण गरिएको मध्ये ५.६८ प्रतिशतमा संक्रमित भेटिएका हुन् ।

तेश्रो जोखिम क्षेत्र भारतसंग सिमाना जोडिएको सूर्योदयमा १ हजार १ सय ८९ जनाको परिक्षणमा ४५ जना संक्रमित छन् । जुन ३.७८ प्रतिशत हुन् आउँछ । आज मात्रै माईमा १९ जनाको रिर्पोट आउँदा ५ जना संक्रमित भेटिएको स्वास्थ्य कार्यालयको तथ्यांकले देखाउँछ । माईमा १८ जना संक्रमणमुक्त भएका छन् ।
२ जना संक्रमितको निधन
माई नगरपालिकामा हालसम्म २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना महिला र एक जना पुरुष रहेका छन् । नगर क्षेत्रमा कोरोना संक्रमण बढ्न नदिन साप्ताहिक हाटबजारका साथै गाउँगाउँमा जनचेतनामुलक कार्यक्रमहरु आयोजना गरिदै आएको जनस्वास्थ्य निरिक्षक पुष्कर कट्टेलले बताए । कट्टेलका अनुसार नगरको विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा आएका बिरामीहरुमा शंका लागेमा हप्तामा २ पटकसम्म पिसिआर परिक्षण गर्ने गरिएको छ ।
संक्रमितको घरघरमा पुग्दै जनप्रतिनिधि र स्वास्थ्यकर्मी
संक्रमितहरुको स्वास्थ्य अवस्थालाई ध्यानम राख्दै नगर प्रमुख दिपकुमार थेबे, उपप्रमुख विष्णुमाया रिमाल सहित जनप्रतिनिधी र स्वास्थ्यकर्मी घरघरमै पुगेर अवस्था बुझ्ने गरेका छन् । ‘ संक्रमितहरुलाई अहिले पाएसम्मको आयुर्वेदिक औषधिहरु घरघरमै लगेर दिने गरिएको छ । स्वास्थ्य अवस्था बारेमा निरन्तर फलोअप गरिरहेका छौ ।’ कट्टेलले भने ‘ हामीले संक्रमितहरु खोजी खोजी परिक्षण गरिरहेका छौ । हप्तामा कम्तीम एक पटक स्वाब संकलन गरेर परिक्षणको लागि पठाउने गरिएको छ ।’

झापा र अन्य जिल्लाका अस्पतालमा उपचार गरेर आएका बिरामी र उनीहरुको आफन्तमा संक्रमण देखिएको कट्टेलले बताए । ‘ अहिले देखिदै आएका संक्रमितहरु झापा र मोरङका अस्पतालमा उपचार गरेर फर्किनुभएका बिरामी र उहाँहरु आफन्त हुनुहुन्छ ।’ कट्टेलले भने ‘ उहाँहरुमा शंका लागेमा होम आइसोलेसनमा राखेर परिक्षणको दायरालाई बढाउँदै लगेका छौ ।’

नगरमा ७ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । उनीहरु अहिले सामान्य अवस्थामा फर्किसकेका छन् । ‘ कर्मचारीहरु मध्येमा पहिलो संक्रमित म नै हुँ ।’ कट्टेलले भने ‘ कर्मचारीहरु अहिले निको भएर नियमित काममा फर्किनुभएको छ ।’

प्रतिक्रिया
सम्बन्धित समाचार