जस्बिरे । इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले नेपाली चियाको इतिहास बोकेको इलाम चिया बगानलाई चिया खेतीको अनुसन्धानको थलो बनाउनुपर्ने बताएका छन् । चियाको फेदमा जन्मिएपनि नेपालमा पहिलो पटक चिया रोपण भएको इलाम चिया बगान निजीकरणसँगै उधोगति तर्फ गएकाले चिया अनुसन्धानको केन्द्र बनाउन संघीय सरकारसँग पनि माग गरिएको उनले बताए ।
राष्ट्रिय चिया तथा कफि विकास बोर्डको प्रथम चौमासिक प्रगति समिक्षा गोष्ठिको उद्घाटन गर्दै नगरप्रमुख बस्नेतले निजीकरणसँगै चिया खेती शुरु भएको इलाम बगान र उद्योग जिर्ण भएकाले संघीय सरकारसँग नगरपालिकाले आफै संचालनका लागि माग गरिएको बताए । ‘हामीले नेपाली चियाको इतिहास भएको बगान र कारखानाको हविगत देखेर सरकारसँग आफै संचालन गर्ने माग पत्र पेश गरेका छौँ–बस्नेतले भने–‘सरकारले निर्णय गरेको छैन, निर्णय भएमा इलाम नगरपालिकाले इलाम चिया बगानलाई अनुसन्धानको थलो बनाउनेछ ।’
चिया इतिहासलाई गर्विलो बनाउन बिक्रम सम्बत १९२० मा चिया रोपण गर्ने इलामका तत्कालिन बडा हाकिम गजराजसिंह थापाको सालिकलाई चिया बगानको बिचमा सालिक स्थापना गरिएको नगर प्रमुख बस्नेतले बताए । विगतका अनुभवबाट आगामि योजना निर्माण गर्नुपर्ने भन्दै नगर प्रमुख बस्नेतले नेपाली चिया खेतीको संस्थागत विकास गर्न स्थापना भएको नेपाल चिया विकास निगम व्यापारीको हातमा पुगेपछि झनै संकटमा परेको बताए ।
बस्नेतले भने–‘निजीकरणबाट देशको विकास र रोजगारी सिर्जना हुन्छ भनेर व्यापारीको हातमा चिया बगान र कारखाना बुझाउँदा रोजगारीमा रहेका कामदार कामबाट हट्नुपर्ने र काम गर्दापनि न्युनतम ज्याला बिनै चिया बगानमा घोटिनुपर्ने अवस्था छ ।’ नेपाल भन्दा पछि चिया खेती गरेका देशहरु नेपालभन्दा कयौँ गुणा अघि बढेपनि हामी गौरवपूर्ण चिया बगान र उद्योग संरक्षण नसक्ने अवस्थामा मात्रै छैनौँ टुलुटुलु हेर्न बाध्य भएकाले नगरपालिकाले संचालनका लागि माग गरेको उनले बताए ।
बस्तुगत आधारमा गरिएका समिक्षा र कार्यस्थलमै छलफल गरि बनाइएका योजनाहरु सफल रुपमा कार्यान्वयन हुने भएकाले चिया तथा कफि विकास बोर्डले प्रगति तथा समिक्षाको काम इलाम नगरपालिकामा गर्ने निर्णय स्वागत योग्य भएको बताए । प्रगति तथा समिक्षा कार्यक्रममा बोल्दै चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डाक्टर बिष्णु भट्टराईले अहिले नेपाली चियालाई बिदेशी बजारमा जोड्ने काममा बोर्ड लागेको बताए ।
बोर्डले प्रथम चौमासिकमा ११ वटा चिया सम्बन्धि तालिम आयोजना गरेको र दुई देशमा नेपाली चियाको लोगो सुचिकरण गर्न सफल भएको भट्टराईले बताए । १ सय ५७ वर्षको नेपाली चियाको इतिहासमा भारत र अमेरीकामा नेपाली चियाको ट्रेडमार्क दर्ता गरिसकेको र १२ उद्योगीले लोगोमा दर्ता भइसकेकाले नेपाली चियाको अन्तराष्ट्रिय बजारमा निर्यात हुने बतावरण बन्दै गएको भट्टराईले बताए ।
‘हामीले युरोप र चाइनामा पनि नेपाली चियाको ट्रेडमार्क दर्ता गर्ने प्रक्रियामा छौँ ‘ भट्टराईले भने–‘ दुवै देशका सरकारहरुको बिचमा सम्झौता गर्न फाइल अघि बढिसकेको छ ।’ हामी युरोप र चाइनामा टे«डमार्क दर्ता गर्ने काम ६ महिनामा सक्छौँ । चियाको बजार भारत पाकिस्तान, बंगलादेश र चाइनामा अत्याधिक रहेकाले नेपाली उद्योगीले गुणस्तरको उत्पादनमा लाग्नुपर्छ कार्यकारी निर्देशक भट्टराईले भने–‘हामी राष्ट्रिय अन्तराष्ट्रिय बजारमा निर्यातको वातावरण बनाउँदछौँ ।
चियासँगै कफि खेतीको पनि विकास गर्न चिया तथा कफि विकास बोर्ड लागि परेको भट्टराईले बताए । ‘हामी ५० रोपनी बढी जग्गामा कफि खेती गर्ने र बिरुवा उत्पादन गर्ने किसानलाई ५० प्रतिशत आर्थिक सहयोगसँगै प्राविधिक सहयोग गर्ने योजना कार्यान्वयन गर्दैछौँ’ भट्टराईले भने–‘हाम्रो मापदण्डमा पर्ने १९ जना किसानले आवेदन दिएकाले प्रदेश एकमा हामी संभाव्यता अध्ययनको काम शुरु गर्ने योजना छ ।’
चिया तथा कफि विकास बोर्डले अहिले कफिको न्युनतम समर्थन मुल्य ९० रुपैया तोकेको पनि उनले बताए । ४७ जिल्लामा खेती हुँदै गएको कफि खेतीको उत्पादन ५ सय मेट्रिक टन भएपनि नेपालमा खपत १९ सय मेट्रिक टन रहेको उनले बताए ।’ संभावना अधिक भएका हामी कफि खेतीमा लगानी गर्ने योजनाका साथ काम गर्दै आएका छौँ ।’ उनले भने
चिया कफि विकास बोर्डले कफि खेतीको न्युनतम समर्थ मुल्य तोकिएकाले चाँडै चियाको न्युनतम समर्थन मुल्य तोक्नका लागि प्राविधिक टोली गठन गर्ने तयारी भएको भट्टराईले बताए । चिया तथा कफि विकास बोर्डको ऐन र नियमावली परिवर्तन गर्न समिति भएको र नितिलाई पनि समयअनुसार परिवर्तनको काम गरिने कार्यकारी निर्देशक भट्टराईले बताए ।
इलाम नगरपालिकाको चिया विस्तार योजना जस्बिरेमा भएको कार्यक्रममा इलाम नगरपालिका वडा नम्बर ७ का अध्यक्ष नरेश श्रेष्ठ, वडा नम्बर २ का अध्यक्ष नारद लम्सालले मन्तव्य राख्नुभएको थियो भने चिया बिस्तार योजना जस्बिरेकी प्रमुख फुलमाया आङ्बोले उपस्थित अतिथि तथा सहभागीलाई स्वागत गरेकी थिइन् ।

