इलाम । पर्याप्त बजेट नहुदा इलाममा विद्युत विस्तारका लागि गाडिएका काठका पोलहरु मक्किएको र भाच्चिएककै अवस्थामा प्रयोग भइरहेका छन् । १५ वर्ष अघि गाडिएका १४ हजार बढी काठका विद्युतिय पोल परिवर्तन गर्न नसक्दा नियमिति विद्युत प्रशारणमा समस्या हुदै आएको छ ।

उपभोक्ताका घरमा उज्यालो पु¥याउन गाडिएका काठका विद्युतिय पोल नै नियमित विद्युत प्रशारणका बाधक छन् । १५ वर्ष अगाडी गाडिएका काठका पोलहरु अति नै जिर्ण हुँदा सामान्य हावाहुरीले नै विद्युत प्रशारण अवरुद्ध हुन्छ ।

नयाँ विद्युत विस्तारमा काठका पोलहरुको प्रयोगमा रोक लगाएपनि पुराना पोलहरु मक्किएर र भाच्चिएअकै अवस्थामा प्रयोग भइरहेका छन् । हजारौँको संख्यामा रहेका काठका पोलहरु फेर्न पर्याप्त बजेट नहुँदा हावाहुरी,बाढी पहिरो र प्राकृतिक प्रकोपबाट विद्युत प्रशारण लाइनमा ठुलो क्षति हुँदै आएको इञ्जिनियर सरोज कुमार चौधरीले बताउनुभयो ।

धेरै पोलहरु मक्किएकाले एक पटक हावाहुरी चल्दा दर्जनौ संख्यामा क्षति पुग्ने गरेको छ । हावाहरुले क्षति पुगेका कतिपय पोल टेको लगाएर चलाइन्छ भने पुरै भाच्चिएको पोललाई झिकेर विद्युत प्राधिकरणले स्टिल पोल लगाउँदै आएको छ ।

बजेट पर्याप्त नभएपछि हजारौको संख्यामा काठको पोल परिवर्तन गर्न आयोजनाको माग गरिएको विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख पंकज गोइतले बताउनुभयो । प्राधिकरणका अनुसार इलाममा काठका विद्युतिय पोल १४ हजारको संख्यामा छन् । जसलाई परिवर्तन गर्न अहिलेको मुल्यमा २८ करोड लाग्ने प्राधिकरणको अनुमान छ ।
तस्बिर सूर्योदय नगरपालिकाको विभिन्न क्षेत्रमा लिइएको हो ।