इलाम । इलाम नगरपालिका वडा नबर ११ सोयाकका नरेन्द्र प्रसाद आचार्य पानी अभाबकै कारण आफुले आफु जन्मेको थाकथलो छोडेर पानी भएको ठाउँमा बसाइँ सर्नु परेको बताए । आचार्यका अनुसार पानी अभावकै कारण अधिकांशले घरबास छाडेर हिडिसकेका छन् । तर अहिले इलाम नगरपालिकाले बोरिङ मेसिनमार्फत पानी निकालेपछि केही हदसम्म भए पनि समाधान हुनेमा आफु ढुक्क भएको बताए ।
इलाम जिल्लाको सदरमुकाममा रहेको इलाम नगरपालिकाले खानेपानीको संकट टार्न पहाडको टाकुरामा रहेको भूमिगत पानी अर्थात डीप बोरिङमार्फत समस्या समाधान गरेको हो । वर्षेनी पानीको मुहान सुक्दै जाँदा स्थानीयले गाउँ छाड्न थालेपछी गाउँ खाली हुने भएपछि नागरिकका लागि नगरपालिकाले बोरिङ गरेर खानेपानी निकालेको हो ।
नगरपालिकले ११ नबर वडा सोयाकमा डीप बोरिङ प्रविधिबाट पानी निकालिएसँगै खानेपानी आपूर्ति सहज बनेको छ । पानी अभावले थलिएका स्थानीयले हाल आवश्यकता अनुसार पानी पाउनेभएपछि राहत महशुस गरेका छन् । यो प्रबिधि प्रयोग गरेर पानी निकालेपछी पानी अभाबमा बस्ती सर्नुपर्ने बाध्यताको अन्त्य भएको नगर प्रमुख महेश बस्नेतको भनाई छ ।
बस्नेतले भने “अब पानीको समस्या सकिएको छ । यहाँका नागरिकहरुले पानी खान पाइएन भन्नु पर्दैन । ” जिल्लाको सदरमुकामका रहेको नगरपालिका भएर पनि भुगोलका हिसाबमा बिकट पनि रहेको छ । सडकलगायत खानेपानीको समस्या झेल्दै आएका सोयाक बासीले खानेपानीको समस्याबाट भने मुक्ती पाउने भएका छन् तर सडकको समस्या हिउँदमा नरहेपनि बर्खामा भने कष्टपूर्ण नै रहेको छ ।
बोरिङमार्फत पानी निकालेपछि गाउँमा खुशीयाली छाएको छ । हाल निकालिएको खानेपानी सुख्खा क्षेत्रका करिब १०० बढि परिवारको घरसम्म पु¥याइएको वडा अध्यक्ष रबिन एक्तेनको भनाई छ । एक्तेनका अनुसार क्रमिक रुपमा घरधुरी अनुसार खानेपानीको लाइन बिस्तार गर्दै लगिने छ । आफु निर्बाचित भएर आएपछि सोयाकका नागरिकहरुलाई खानेपानीको सहज आपुति गरेर घरघरमा पानी पुर्याउन सफल भएको वडा अध्यक्ष एक्तेनको भनाई छ ।
इलाम नगरपालिक र नेपाल सरकारको बिशेष अनुदान मार्फत करिब दुई करोड ४७ लाख बडिको लागतमा निर्माण गरिएको आयोजनामा १ लाख लिटरको एक वटा , पचास हजार र तीस हजार लिटर क्षमताको एक एक वटा रिजर्भ ट्यांकी निर्माण गरिएको छ । पहाडको टुप्पोमा उक्त डीप बोरिङ प्रविधिबाट खानेपानी निकालिएपछि स्थानीय नागरिकको घर घरमा पानी पुग्न थालेपछी दैनिकीमा परिवर्तन साथै सहजता हुने देखिन्छ । हिमालय टाइम्सबाट साभार