फिक्कल । इलामको सूर्योदय नगरपालिका–११ आइतरबारेमा रहेको मेची आयुर्वेद औषधालय (अस्पताल) ले उपचारात्मक सेवा विस्तार गरेपछि पहिलो पटक नाफा आर्जन गरेको छ । प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालयले सेवा विस्तार गरेको औषधालयमा गत आर्थिक वर्षमा औषधी र उपचारात्मक सेवाबाट पाँच लाख नाफा आर्जन भएको हो ।
मेची आयुर्वेद औषधालयको स्तरउन्नती पछि एक वर्षमा १० हजार ३९ जना बिरामीले सेवा लिएका छन् । प्रदेश नम्बर १ सरकारले अस्पतालमा स्तरउन्नती गर्न सेवा विस्तार गरेपछि नेपाल र भारतका जटिल रोगीको औषधालयमा उपचार हुँदै आएको छ । न्युन सुल्कमा सेवा प्रदान गर्दै आएको औषधालयमा ढाड, कम्मर, घुडा, नसा च्यापिएको, पेट, टाउको सम्बन्धिको उपचार सेवा विस्तार भएको थियो । २३ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको औषधालयमा १० प्रतिशत छुटमा शसुल्क औषधि खरिदको व्यवस्था पनि गरिएको छ ।
औषधालय व्यवस्थापन समितिले आर्थिक वर्ष २०७६/०७७ मा छुटमा औषधि विक्रिबाट एक लाख ३३ हजार र उपचारात्मक सेवाबाट तीन लाख ५० हजार नाफा गरेको प्रमुख तिर्थ आचार्यले बताए । पञ्चकर्म, निःशुल्क औषधि, अकुपञ्चर, प्रयोगशाला, आकस्मिक सेवा लगायतका विस्तारमा प्रदेश नम्बर १ सरकारको सामाजिक विकास मन्त्रालयले सहयोग गरेको थियो ।
औषधालयमा इलाम, पाँचथर, ताप्लेजुङ र भारतको दार्जिलिङ जिल्लाबाट उपचार गर्ने बिरामीको भिड लाग्छ । कोरोना सुरु हुनु भन्दा अघि औषधालयमा दैनिक ८÷१० जना बिरामी भारतको विभिन्न क्षेत्रबाट आउने गरेका थिए । प्रदेश सरकारलाई औषधालय हस्तान्तरण गरेपछि हालसम्म सेवा विस्तारका लागि सामाजिक विकास मन्त्रालयले ८८ लाख रुपैयाँ लगानी गरेको छ ।