Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सुस्त गतिमा फिदिमलाई नमुना सहर बनाउने काम

सुस्त गतिमा फिदिमलाई नमुना सहर बनाउने काम

  • सन्देश सम्वाददाता
  • शनिबार, कार्तिक १५ २०७७


सुस्त गतिमा फिदिमलाई नमुना सहर बनाउने काम

पाँचथर । पाँचथरको फिदिमलाई नयाँ नमुना सहर बनाउने कामले गति लिन सकेको छैन । आगामी २०८० सालभित्र एक लाख जनसंख्यालाई आवश्यक पर्ने सहरी पूर्वाधार बनाउने लक्ष्य भए पनि बजेट अभावलगायतका विविध कारणले गति लिन नसकेको हो ।अहिलेसम्म पनि फिदिमको नमुना सहरमा ११ साइजको खेलमैदान बन्न सकेको छैन ।

गणेशमान पार्कको लक्ष्यअनुरुप जति काम हुनुपर्ने त्यति काम हुन सकेको छैन । त्यस्तै, ल्यान्डफिल्ड साइडले पूर्णता पाउन सकेको छैन भने सभाहलको निम्ति जग्गा प्राप्ति हुन सकेको छैन र दुई पटकसम्म उद्घाटन भएको बसपार्क अहिलेसम्म पनि प्रभावकारी ढंगबाट सञ्चालन हुन नसक्दा फिदिमबासी निराश भएका छन् । शिक्षा र स्वास्थ्यको क्षेत्रमा राज्यको लगानीसँगसँगै निजी क्षेत्रबाट लगानी भइदिए नमुना सहर बन्न थप सहयोग पुग्ने नयाँ सहर आयोजना कार्यालयका कार्यालय प्रमुख विश्वराम प्रजापति बताउछन् ।

नमुना सहर फिदिममा एक लाख जनसंख्याको बस्ती बसाल्ने अवधारणअनुरुप जुन गतिमा काम हुनुपर्ने त्यो हुन सकेको देखिँदैन ।बाध्यात्मक परिस्थितिले आएकाबाहेक आकर्षित गरेर फिदिममा रहन सकिन्छ भन्नेखालका पूर्वाधार निर्माणमा नयाँ सहर कार्यालयले काम गर्न नसकेको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष दीपक नेपाल बताउनुहुन्छ ।विविध कारणले गर्दा कार्यालयमा आएको बजेटसमेत खर्च हुन सकेको छैन । फिदिम बजारको मुख्य राजमार्गमा रहेका घरटहरा हटाउन नसकिएको र बजारभित्रका शाखा सडकहरु भत्किएर दुर्घटनाको जोखिम बढ्दासमेत सडक निर्माणको काम थालनी हुन सकेको छैन ।

ठूला कार्यक्रम गर्न २०० मानिस अट्ने सिटी हल बन्न नसकेको र रंगशाला निर्माणको कामले गति लिन नसकेको हुँदा सरकारले पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने तथा जिल्लाबासी एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको उद्योग वाणिज्य संघ पाँचथरका अध्यक्ष नेपालको भनाइ छ । बजार आसपासमा माकुराको जालोजस्तै बत्ती, टीभीको केबल, इन्टरनेट, टेलिफोनको तार, बिनाअनुमति टाँगिएको होर्डिङ बोर्डले फिदिम सहरलाई कुरुप बनाएको छ ।

जुन उद्देश्यका साथ कार्यालय स्थापना भएको थियो, त्योअनुरुप काम हुनुपर्ने र सरकारले नै काम गर्नका लागि विश्वसनीय वातावरण बनाउनुपर्ने स्थानीय भवानी खतिवडा बताउनुहुन्छ ।संघीय सरकार मातहत रहेको नयाँ सहर आयोजना कार्यालयमा लक्ष्यअनुरुपको योजनाको काम गर्न पर्याप्त बजेट आउने र स्थानीयस्तरमा सरोकारवालाहरुबीच व्यापक छलफल र अन्तरक्रिया गरी योजना कार्यान्वयनमा एकमत हुने हो भने नमुना सहरको कामले गति लिनेमा दुईमत छैन । इमेज खबरबाट

प्रतिक्रिया
सम्बन्धित समाचार