आगामी बर्ष देशमा १२ औ जनगणना हुँदैछ । नेपालको संविधान २०७२ घाेषणा पछिकाे यो नै पहिलो जनगणना हो । संविधानको प्रस्तावनामा नै नेपाल बहुजाति, बहुभाषी, बहुधर्मी र बहुसंस्कृति भएको मुलुक हो भनेर लेखिएको छ । संविधानले नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरेपछि अब आउने जनगणनाको लागि जातीयताको मुद्धाले विशेष बहस पाएको छ । सामाजिक संजालमा जात र धर्मको बारेमा अनेकौ टिक्काटिप्पणी सुरु भएको देखिन्छ । विशेष गरेर जनजातीको सबालमा अहिले गरमागरम बहसको बिषय बनेको छ । लिम्बु समुदायले आफ्नै धर्म महलमा किरात भन्ने वा यूमा यसमै अन्योल रहेको अवस्थामा अब आउँदो २०७८ जनगणनामा लिम्बूजातीले धर्मको महलमा किरात लेख्न नभुलौं, भनेर किरात धर्म तथा साहित्य उत्थान संघ लागि परेकाे छ यसै सन्दर्भमा अध्यक्ष डकेन्द्रसिंह थेगिम लिम्बु संगको सन्देशकर्मी लिला सुब्बाले गरेको कुराकानी
अहिलेको सन्दर्भमा लिम्बु (याक्थुङ्बा) समुदायहरूमा धर्मको महलमा के लेख्ने भन्नेमा अल्मलिरहेको अवस्था छ, किन ?
अहिलेका केहि याक्थुङ (लिम्बु)जातिहरूले प्रागैतिहासिक कालमा आफ्नो पहिचान किरात हो। अहिलेसम्मको निरन्तरता पनि त्यही हो। अहिले आएर किरात समुदाय किरात महाजाती भयेको छ।त्यही समुदाय वा महाजाती भित्र किरात राई,याक्खा,सुनुवार ,जीरेल,सुरेल, लिम्बू,थामी भएका हौ । भन्ने कुरा बुझेनन् ? हिजो किरात सभ्यता थियो। किरात देश थियो।
यहि देशमा यलम्बरदेखि गस्तीसम्म किरात बंशले २८/२९पुस्ता राज्य गरेका थिए। नेपाल खाल्डोबाट बिस्थापित भएपछि वल्लो किरात, पल्लो किरात, माझ किरात भन्ने हाम्रै किरात पुर्खाहरूको शासन सत्ता थियो भन्ने कुरा भूलेर हामी याक्थुङ्ग (लिम्बू) किरात होइनौं र किरात धर्म हाम्रो हुँदैन् भनेर भ्रम छर्ने काम भएकाले धर्मको महलमा लिम्बुहरू अन्यौल हुन खोजेको मात्र हो ।
अब आउने राष्ट्रीय जनणना २०७८ सालमा धर्मको महलमा एक थरी किरात लेख्नु पर्छ भन्दैछन् भने अर्को थरी युमा धर्म लेखाऔं भन्दै जिम्मेवार ब्यक्तीहरूनै लागि परिरहेको अवस्थामा तपाई कस्तो सन्देश दिनुहुन्छ ?
युमा भनेको भनेको किरात याक्थुङ्ग लिम्बूहरूको इष्ट देवता हो। अर्को भनेको पराई धर्ममा दीक्षित भएर गएका लिम्बु बाहेक कुनै पनि याक्थुङ्ग लिम्बू जाति घरको कूल देवता युमा (बज्यछ) देवता नमान्ने कोही छैनन् । यसरी आफूले मान्ने देवताको नामबाट धर्मको नाम भएको संसारमा कुनै धर्म छैन ।
अहिलेसम्म धर्म कि त समुदायको नामबाट भएको छ । यदी पुज्ने देवि देवताबाट धर्मको नामकरण हूने हो भने लिम्बु जातिमा युमा धर्म, थेबा धर्म, हिम्माङ् धर्म, दुङ्दुङगे धर्म ,सबा (बादर) धर्म आदी हून्छ। हिन्दु धर्म भित्र पनि धेरै सम्प्रदाय देवी देवता छन्। तर उनीहरू राधा धर्म ,कृष्णप्रणामी धर्म, बिष्णु धर्म काली धर्म आदी नभएर समग्रमा हिन्दू भन्दछन् भने हामी लिम्बु जातिले पनि किरात धर्म लेखेर जानू पर्छ आउदो जनगणना २०७८ मा भन्ने मान्यता हो ।
धर्मको महलमा वाक युद्धले गर्दा आज याक्थुङ्बा (लिम्बू)हरू विपरित ध्रुबमा बाँडिदैछन् । अब यस सन्दर्भमा तपाईले कस्तो सन्देश दिनुहुन्छ ?
सञ्जालमा आ आफ्ना भनाहरू राखे हुने तर एकले अर्कालाई गाली गलौज गर्नु गलत हो भनेका छौ । यो कारण वाक युद्ध हुनु दुखद हो ।
किराँत धर्मको बिशेष गरी लारूम्बाली साधुहरूको कारण युमा धर्म जन्म भएको हो भन्ने आरोप सुन्न पाईन्छ सामाजिक अभियान्ता तथा किराँत धर्म तथा साहित्य उत्थान संघको तर्फबाट आम चार/ पाचँ लाख लिम्बु याक्थुङ्बाहरूलाई धर्मको बारेमा प्रष्ट पारिदिनु हुन्छ की ?
लारुम्बाको कारणले युमा धर्म जन्मियो भन्नु झुठो आरोप मात्रै हो । लारुम्बाबाट किरात धर्मको प्रचारप्रसार २०३४÷०३५ सालदेखि नै हो । तर बिदेशी ईशारामा बिशेषगरी सिक्किमे प्रभावमा युमा साम्यो महासभा २०७४ साल माघ महिनामा दर्ता गरेर हामी याक्थुङ लिम्बुलाई फुटाउने काम भएको छ । यो दुःखद हो ।
माघ महिनामा युमा साम्यो संस्था दर्ता गरे लगत्तै २०७५ बैशाख महिनाको १६ र १७ गते धरानमा युमा साम्यो महासभा अन्तर्राष्ट्रिय महासम्मेलन गरियो । त्यस महासम्मेललनमा पुर्ब प्राज्ञ बैरागी काइलाको प्रमुख आतिथ्यमा सिक्किम दार्जीलिङ र कालिम्पोङबाट आएका २० जना प्रतिनिधि र नेपालबाट १० जना गरी जम्मा ३० जना प्रतिनिधिको हस्ताक्षर समेटिएको बिदेशी प्रतिनिधिहरुको दुई तिहाई बहुमत हस्ताक्षरबाट युमा धर्मको घोषणा भएको छ । तर सिक्किमेले राज्यबाट ट्रिबल राइट्स अन्तर्गत केही सहयोग अनुदान पाउँछन् भने नेपालमा याक्थुङ लिम्बुबीच फुट बाहेक केही पाउनेवाला छैन । यो षडयन्त्र कहाँबाट भैरहेको छ यो बारे पनि बुझ्न जरुरी छ। यस अघि योगी भोगी जीव हिंसा गर्ने वा नगरी सेवापुजा गर्ने हामी सबै किरात धर्म भित्र हामी सबै गोलबन्द थियौं ।
अन्त्यमा म के भन्न चाहन्छु भने किरात धर्म संसारकै प्राचीन धर्म हो । यस धर्म भित्र सत्यहाङमा , युमा पन्थ , जोगी भोगी हामी सबै अँटेर बस्न सक्छौं । अर्को कुरा याक्थुङ लिम्बुले मान्ने पुज्ने देवी देवताको नामबाट धर्मको नामाकरण गर्ने हो भने युमा धर्म मात्रै होइन थेबा धर्म , हिम्माङ धर्म , दुङ्दुङगे धर्म ,साप धर्म, बाँदर धर्म आदि पचासौं धर्म जन्मन सक्छन् तर यसले धार्मिक एकता आउदैन र यसको असर जहिल्यै नकारात्मक हुन्छ । त्यसैले हामी सबैले आगामी २०७८ को राष्ट्रिय जनगणनामा अर्काको हुइँयामा नलागी धर्मको महलमा “ किरात “ लेखौं लेखाऔं। म यहि आह्वान गर्न चाहन्छु ।