फिक्कल। इलाम चियाको लागि मात्र नभई किवि खेतीको लागि समेत प्रशिद्ध जिल्ला हो । जिल्लाको २ स्थानीय तहका ९ वटा वडालाई किवि जोन घोषणा गरेर अढाई बर्ष अघिबाटै कार्यक्रम सुरु गरिएको छ । तर पछिल्लो समय इलाममा उत्पादित किवि कलिलैमा बजारमा पुग्न थालेपछि सरोकारवाला निकायले अनुगमन कार्यलाई तिव्रता दिएका छन् । जिल्ला प्रशासन कार्यालय र कृषि ज्ञान केन्द्रको अगुवाईमा जिल्लाका मुख्य बजारका पसलहरुमा किविको अनुगमन गर्न सुरु गरेको हो ।
अनुगमन समितिले इलाम र पाँचथरको सिमानाको राँकेबजारबाट सूर्योदय नगरपालिकाको फिक्कलसम्मको क्षेत्रका मुख्य बजारमा रहेका फलफुल पसलमा अनुगन गरेको छ । अनुगमनका क्रममा प्राय जसो पसलमा ग्रिन किवि पाइएको छ । जुन अहिले टिप्न नमिल्ने बताइएको छ । काँचोमा किवि टिप्दा आवश्यक पौष्टिक मात्रा प्राप्त नहुने गरेको कृषि ज्ञान केन्द्रका निमित प्रमुख टोनी बर्देवाले बताए ।
केही दिन अघि बजारमा आएको किवि काँचो र गुणस्तरको नभएको भन्दै कृषिज्ञान केन्द्रले यस्तो काम तत्काल बन्द गर्न सुचना जारी गरेको थियो । तर अझै पनि बजारमा काँचो किवि आउने क्रम नरोकिएपछि पसलपसलमा अनुगमन कार्य गरिएको हो । कार्तिक अन्तिमबाट बजारमा निस्किएको किविलाई मात्र गुणस्तरिय मानिदै आएको छ । बजार अनुगमनसंगै किविको प्राविधिक ज्ञानका बारेमा सचेत गराउनुपर्ने सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राई बताउँछन्
बजारमा प्रतिस्पर्धा र मुल्य अधिक पाउनेका लागि किसानहरुले समय अगावै किवि बजारमा निकाल्ने गरेका छन् । अहिले बजारमा आएका किविमा गुलियोपन भन्दा ज्यादा अमिलोपन हुने भएकाले इलामको किवि ब्रान्डमा असर पर्ने खतरा देखिएको बताइएको छ । किविको बारेका जानकारी नहुँदा किसानहरुबाट काँचो किवि खरिद गरेको व्यवसायी मालतीदेवी बताउँछिन् ।
इलामको सन्दकपुर गाउँपालिकाको ५ वटै वडा र इलाम नगरपालिकाको ४ वटा वडालाई किवि जोन घोषणा गरिएको छ । इलाममा उत्पादित किवि नेपालका विभिन्न बजारमा अतिरिक्त खाडी मुलुकमा समेत निर्यात हुने गरेको छ । जिल्लाका तीन हजार भन्दा बढी किसानले इलाममा किवीको व्यवसायिक खेती गरिरहेको कृषि ज्ञान केन्द्र इलामको तथ्याङ्कमा उल्लेख छ । इलाममा प्रति हेक्टर एक दशमलव ५३ मेटिक टन किवीको उत्पादकत्व रहेको छ । इलाममा बार्षिक रुपमा एक सय ३५ मेट्रिक टनभन्दा बढी किवी उत्पादन हुने गरेको छ ।
