Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलाम अस्पतालमा भेन्टिलेटर मेसिन

इलाम अस्पतालमा भेन्टिलेटर मेसिन

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ३ २०७७


इलाम अस्पतालमा भेन्टिलेटर मेसिन

पुर्वी पहाडमा पहिलो पटक इलाम अस्पतालमा भेन्टिलेटर मेसिन जडान गरिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले इलाम अस्पताललाई २ थान भेन्टिलेटर र २ थान फोटो थेरापी मेसिन प्रदान गरेको हो। संविधानसभा अध्यक्ष सुवास चन्द्र नेम्बाङ पहलमा स्वास्थ्य मन्त्रालयबाट प्राप्त सामग्री शनिबार जिल्ला समन्वय समिति प्रमुख तथा इलाम अस्पताल प्रमुख गणेशप्रसाद बराललाई हस्तान्तरण गरिएको छ ।

सामग्री बुझ्दै प्रमुख बरालले स्वास्थ्य सेवामा इलाम अस्पताल पूर्वीपहाडमै एक कदम अघि बढेको बताए। भेन्टिलेटर सञ्चालन गर्न जनशक्तिलगायत अन्य पूर्वाधार पनि आवश्यक पर्ने भएकाले केही महिनापछिदेखि मात्रै यसले सेवा दिने अस्पतालले जनाएको छ। अस्पताल व्यवस्थापक क्षितिज खतिवडाका अनुसार यो उपकरण सञ्चालनका लागि एकजना एनेस्थेसिया चिकित्सक र एक तालिमप्राप्त नर्स आवश्यक पर्ने भएकाले पदपुर्तीका लागि सुचना प्रकाशन गरिएको छ । उनका अनुसार अस्पतालको कोठा र बेड पनि व्यवस्था गर्नुपर्ने भएकाले सेवा सुरु गर्न केही समय लाग्ने छ।

इन्टेन्सिभ केयर युनिट (आइसियु) सेवा सञ्चालन भएपछि अन्य विशेषज्ञसमेत आवश्यक पर्ने खतिवडाले बताए। अहिले इलाम अस्पतालमा ९ विशेषज्ञ चिकित्सकको दरबन्दी रहेपनि ३ जनामात्रै कार्यरत छन्। निकै गम्भीर अवस्थाका बिरामीलाई श्वासप्रश्वास सेवा सञ्चालन सहज बनाउन भेन्टिलेटर र नवजात शिशुको जन्डिस वा अन्य रोग उपचारका लागि फोटो थेरापी मेसिन आवश्यक पर्छ। इलाम अस्पतालमा १ नम्बर प्रदेश सरकारबाट अर्को पनि भेन्टिलेटर ल्याउन लागिएको सुचना अधिकारी कुलबहादुर देवानले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार