Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

६ दशकपछि पाटापुरबासीकाे हातहातमा धनीपुर्जा

६ दशकपछि पाटापुरबासीकाे हातहातमा धनीपुर्जा

  • नमीन ढकाल
  • शुक्रबार, असोज २ २०७७


६ दशकपछि पाटापुरबासीकाे हातहातमा धनीपुर्जा

इलाम । झापासंग सिमाना जोडिएको इलामको रोङ गाउँपालिका–६ पाटापुरका बासिन्दाले करिब ६ दशकपछि जग्गाको धनीपुर्जा पाएका छन् । सुकुम्बासीका रुपमा लामाे समय बिताएका पाटापुरबासीको हातहातमा जग्गाधनीपुर्जा पुगेपछि खुशीको सिमा छैनन् । पाटापुरमा बसोबास गरिरहेका ८७ घर परिवार मध्ये २० परिवारले पहिलो चरणमा धनीपुर्जा पाए । जग्गाधनी पुर्जा पाएपछि ६३ बर्षिय लालसिंह राईको आशु थामिएन् । ‘ सबैले सुकुम्बासी भनेर हेप्थे अब त हामी पनि जग्गाधनी भयौ ।’ उनले भने ‘ बुबाले पेश गर्नु भएको थियो मेरो पालामा पाए । यो खुशी व्यक्त गर्ने शब्द नै छैन् ।’ लालसिंहले ५७ वर्षपछि भोगचलन गर्दै आएको १३ रोपनी जग्गाको लाजपूर्जा पाएका हुन् ।

 विनिता राई अहिले हातमा धनीपुर्जा पाएपछि सुकुम्बासीबाट मुक्त भएकोमा एकदम खुशी छिन् । स्थानीय दिलबहादुर राराहाङको २०२० सालमा बिवाह गरेर आएपछि उनले सुकुम्बासी झै विताउनुपरेको थियो ।  उनको परिवारले भोगचलन गर्दै आएको १८ रोपनी जग्गाको धनीपुर्जा पाए । ‘कति खुशी छु भनेर त कसरी भनौ । सवैभन्दा खुशीको कुरो त अब कसैले पनि सुकुम्बासी भनेर हेप्दैनन् । हामीले जिताएको जनप्रतिनिधि हाम्रै लागी हो भन्ने बल्ल महसुस हुँदैछ ’ उनले भनिन् ‘ जग्गा नहुँदा कसैले ऋणसम्म दिन मान्दैन थिए । अब त बैंकमा जग्गा राखेर भए पनि केही काम गर्नसक्छौँ ।’

२०२१ सालदेखी जग्गा फडानी गरेर बसेका ७१ बर्षिय भक्तबहादुर राईलाई सुकुमबासीको रुपमा सास जान्छ की भन्ने चिन्ता थियो । तर अहिले आएर हातमा धनीपुर्जा हुँदा एकदम खुशी लागेको बताए । ‘ मर्ने वेलामा जग्गा धनी भएँ । अब त मर्दा पनि सुखले सास जाने भयो । खुसी त कति छ कति’ उनी भन्छन् ‘यत्रो वर्ष धनीपूर्जा नपाउँदा अब त पाइँदैन भन्ने नै लागेको थियो । तर अब नम्बरी जग्गा बन्यो मेरो ’

जंगल छेउमा बस्ती बनाएर बसेका पाटापुर बासीले जीवनमा अनेक समस्या भोग्नुप¥यो । विभिन्न समयमा वनका कर्मचारीले पटकपट दुःख दिन्थे । ‘पहिला वनका कर्मचारीले तिमीहरूलाई खेदाउँछौँ भन्थे । पैसा माग्थे, नदिए हाती लगाएर धपाउनेसम्मको धम्की दिन्थे । ’, स्थानीय कुमार राईले भने ‘ हातमा लालपूर्जा नहुँदा डर थियो अब त हातमा लालपूर्जा छ । कसैले उठाउन सक्दैन् यहाँबाट’

२०५२ मा तत्कालीन सरकारले गठन गरेको सुकुम्बासी आयोगले लालपुर्जा वितरणका लागि प्रक्रिया थालेको थियो । तर सरकार ढलेसँगै उनीहरूको आशा गुम्यो । गाउँपालिकाले २ बर्ष अघि टंक थापाको संयोजकत्वमा ब्यवस्थित बसोबास समिति बनाएर स्थानीयको समस्या समाधान प्रक्रिया अघि बढाएको थियो ।

बिगत २३ बर्ष देखी आफ्नाे नाममा जग्गा दर्ता भएपनि धनीपुर्जा पाउन नसक्दा निरास बनेका नागरिकहरुलाई प्रक्रिया अगाडी बढेसंगै उत्साहित बनेका थिए । ८७ परिवारका करिब १८ सय रोपनी जग्गाको फिल्डबुक उतार गरि मालपोत कार्यलयले दर्ता गरेर पाटापुरबासीको समस्या समाधान तर्फ अघि बढाइएको थियो ।

पाटापुरमा ८७ मध्ये पहिलो चरणमा २० जनाले जग्गाधनी प्रमाणपूर्जा पाएको गाउँपालिका अध्यक्ष शमसेर राईले बताए । बाँकीको पनि नियमित प्रक्रियामा रहेको उनले बताए । २० घर परिवारको धनीपूर्जा गाउँपालिकाले स्थानीयको घर–घरमा पु¥याएको थियो । ‘हामीले व्यवस्थित बसोबास समिति गठन गरेर सबै समस्याको जरो बुझेर प्रतिवेदन बुझाएको थियो ।’, उनले भने, ‘ विगत २ दशक भन्द लामो समय देखि पाटापुरको समस्या मालपोतमा रोकिएको रहेछ । सो प्रक्रियालाई स्थानीय सरकारको तर्फबाट समन्वय गरेर काम ग¥यौँ । हाम्रो चाहाना जनताले कम खर्च र सास्ती नपाई धनीपूर्जा पाउन् भन्ने हो ।’

झापासंग सिमाना जोडिएको क्षेत्र भएकाले मालपोत कार्यालयसम्म पुग्न झापा पुगेर जानुपर्ने भएकाले सानो समस्याले फर्कनु नपरोस भनेर मालपोतमा एक जना कर्मचारीको व्यवस्था गरिएको राईले बताए ।  पाटापुरको सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया ०५२ सालदेखि नै सुरु भए पनि चासो गर्ने मान्छे नहुँदा सुकुम्बासीले धनीपूर्जा नपाएको रोङ–६ का वडाध्यक्ष मणिकुमार स्याङ्बोले बताए ।

‘सुकुम्बासी समाधान आयोगले २०५२ सालमै विभिन्न सर्तसहित जग्गा दिने निर्णय ग¥यो । ती सर्तबारे हालसम्म न निर्वाचित जनप्रतिनिधिलाई थाहा भयो न स्थानीयलाई । त्यसयता स्थानीयले पनि बारम्बार आग्रह गरे । नेताले पनि चुनावी नारासहित आश्वासन दिन छाडेनन’, उनी भन्छन्, ‘म वडाध्यक्षको हैसियतले जनतासँग माफी माग्छु । यो काम २०५४ सालभित्र गरेको भए मालपोतमा भारी छुट हुने थियो । तर, खोजी गरिदिने कोही नभएकाले लघुवित्तबाट ऋण लिएर मोलपोत तिर्न जनता बाध्य भए ।’

प्रतिक्रिया
सम्बन्धित समाचार