रोङ : राष्ट्रिय बाल दिवसको अवसरमा रोङ गाउँपालिकामा भर्चुअल वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । बालअधिकारमा कोभिड१९ कोरोना भाइरसले पारेको प्रभाव भन्ने शीर्षकमा भएको वक्तृत्वकलामा गाउँपालिका क्षेत्रका कक्षा ६ देखि १२ सम्म अध्ययनरत १३ जना विद्यार्थीहरु सहभागि थिए ।
प्रतियोगितामा शान्ति निकेतन मावि रोङ–३ का प्रश्ना राई ७४.६ अङ्कका साथ प्रथम , शान्ति निकेतन माविकै रोजिला कार्की ७१.६ अङ्कका साथ द्वितीय , शान्तिपुर मावि रोङ–२ का शिशिर शिवाकोटी ७०.३ अङ्कका साथ तृतीय र सरस्वती मा वि रोङ–६ जिर्मलेका विन्ध्या प्रधान ६८.६ र शान्ति निकेतन माविका निश्चल सुवेदी ६३६ अङ्कका साथ सान्त्वना भएका छन् । विजयी विद्यार्थीहरूले क्रमशः ५ हजार,४ हजार ,३ हजार र १÷१ हजार पुरस्कार प्राप्त गरेका छन् ।
गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रयास भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा शिक्षा शाखा प्रमुख ज्ञानबहादुर कार्की , करकोफ बहुमुखी क्याम्पसका शिक्षक सुवास राई र शान्ति निकेतन माका शिक्षक ईश्वरीकुमार निरौला निर्णायक रहेका थिए ।
सहभागी विद्यार्थीलाई धन्यवाद र विजयी विद्यार्थीलाई बधाई दिँदै प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष चन्द्रकला राईले असोज १ बाट इन्टरनेटको माध्यमबाट विद्यालय सञ्चालन गर्ने बारे छलफल भइरहेको बताइन् । उनले भर्चुअलको माध्यमबाट विभिन्न यस्ता कार्यक्रमहरू गर्न सक्दा सकारात्मक परिर्वतन आउने बताइन् ।
मन्तव्यको क्रममा कोभिडले जुराएको यो अवसरमा प्रविधिमैत्री सिकाइलाई वृद्धि गर्नुपर्ने शान्ति निकेतन माविका सहायक प्रधानध्यापक भूपाल खड्काले बताए । शिक्षक खडानन्द ढुङ्गानाले विद्यार्थीमाझ प्रविधिबाट शिक्षण सिकाइ कसरी गर्न सकिन्छ यसबारे गाउँपालिकाले कसरी योजना बनाउन सकिन्छ भन्ने कुरा राखेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका शिक्षकहरूले र वडा नं ५ का वडाध्यक्ष युवराज खाप्तुवा राईले आऔआफ्नो धारणा राखेका थिए ।
कार्यक्रमको समापनको क्रममा सभाध्यक्ष प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बालमस्तिष्कमा कोरोनाले कस्तो प्रभाव पारेको रहेछ भन्ने कुरा र भर्चुअल माध्यमबाट कार्यक्रम गर्दाको प्रभाव कस्तो हुँदो रहेछ भन्ने बारे जान्ने मौका मिलेको बताए । महिला तथा बालबालिका समाज कल्याण शाखाका प्रमुख रेणुुका राईले कार्यक्रम संचालन गरेकी थिइन् ।