इलाम । कोलम्बियन मिडफिल्डर जेम्स रोड्रिग्वेज प्रिमियर लिग क्लब एभर्टनमा आवद्ध भएका छन् । ६ बर्षे स्पेनिस ला लिगा क्लब रियल मड्रिडको फुटबल यात्रा समाप्त गर्दै २० मिलियन पाउन्डमा उनी एभर्टनमा आवद्ध भएका हुन् । २ बर्षे सम्झौता गर्दै उनी कार्लो एन्सेलोट्टीको प्रशिक्षणमा प्रिमियर लिग क्लबमा खेल्न राजी भएका हुन् । रोड्रिग्वेज र एन्सेलोट्टीको सहयात्रा यो तेश्रो पटक हो ।
यसअघि उनले इटालीयन प्रशिक्षकसंग बुन्डेलिगा क्लब बायर्न म्युनिख र रियल मड्रिडमा खेलेका थिए । ‘गौरवशाली इतिहास भएको क्लब र मलाई राम्रैसंग चिन्ने प्रशिक्षकको साथ पाउँदा खुशी लागेको छ ।’ रोड्रिग्वेजले भने ‘ म यहाँ उत्कृष्ट खेल देखाउने कोसिस गर्नेछु । यो टोलीलाई जिताउँदै उत्कृष्ट प्रर्दशनका निम्ति आतुर छु ।’ फिफा विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेपछि फ्रान्सेली क्लब मोनाकोबाट रियल मड्रिड आएका थिए । सन २०१७ देखि १९ सम्म लोनमा बुन्डेलिगा जाइन्ट बायर्न म्युनिखमा समेत आवद्ध भए ।
सबैलाई थाहा छ जेम्स धेरै गुणस्तरिय र स्ट्राइकरहरुलाई सहयोग पु¥याउने क्षमता भएका उत्कृष्ट खेलाडी हुन् ।’ एन्सेलोट्टीले आफनो नयाँ सम्झौताको बारेमा भने । रोड्रिग्वेजले रियलमा रहँदा दुई ला लिगाका साथै दुई च्याम्पियन्स लिग जितेका थिए । बार्यनमा लोनमा रहँदा उनले दुवै संस्करणको बुन्डेसलिगा दिलाउन भुमिका खेलेका थिए । २०१९–२० को सिजनमा मड्रिड फर्किएका उनले ८ ला लिगा खेलमा सहभागिता जनाउँदै १ गोल गरेका थिए ।
पोर्चुगिज क्लब पोर्टोमा रहँदा उनले ३ संस्करणको पोर्चुगिज कप जितेका थिए । सन २०१२ मा २० बर्षको उमेरमा डिभिजन प्लेयर अफ दि इयर अवार्ड जित्ने सवैभन्दा कान्छा खेलाडी उनलाई मोनाकोले ३८.५ मिलियन पाउन्डमा अनुबन्धन गरेको थियो । एक सिजन मोनाकोमा ३८ खेलमा १४ असिस्ट गर्दै १० गोल गरेका थिए । विश्वकपमा ६ गोल गर्दै गोल्डेन बुट जितेपछि उनको यात्रा मड्रिड तर्फ मोडिएको थियो ।
मोनाकोबाट उनी ६३ मिलियन पाउन्डमा मड्रिड गएका हुन् । सिरिए क्लब नापोलीबाट बर्खास्त भएपछि ६१ बर्षिय एन्सेलोट्टी गत डिसेम्बरमा साढे ४ बर्षका लागि एभर्टनको प्रशिक्षकको रुपमा नियुक्त भएका थिए । उनको प्रशिक्षकत्वमा एभर्टनले प्रिमियर लिग १२ औ स्थानमा समाप्त गरेको थियो ।
