Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

ब्राजिलियन महिला फुटबलरलाई नेयमार सरह तलब र भत्ता

ब्राजिलियन महिला फुटबलरलाई नेयमार सरह तलब र भत्ता

  • नमीन ढकाल
  • बिहिबार, भाद्र १८ २०७७


ब्राजिलियन महिला फुटबलरलाई नेयमार सरह तलब र भत्ता

एजेन्सी । ब्राजिलियन महिला फुटबलरले अब पुरुष बराबर तलब र पुरस्कार पाउने भएका छन्। ब्राजिलियन फुटबल कन्फेडेरसन ९सीबीएफ० ले बुधबार महिला र पुरुषको सुविधामा विभेद नगरिने जनाएको हो। ‘यहाँ कुनै लैंगिक भिन्नता छैन। सीबीएफले पुरुष र महिलालाई समान व्यवहार गरिरहेको छ।’ सीबीएफका प्रमुख रोजेरियो काबोकाले भने।सीबीएफले समन्वयकर्ताको रुपमा डुडा लुइजेली र एलाइन पेलेग्रिनोलाई नियक्त गरेको जनाएको छ।

यो कदमले पुरुष टोलीका नेयमार, ग्रेवियल जेसस, रोबर्टो फर्मिनो जस्तै मार्टा, फर्मिगा र लेटिसिया सान्तोस लगायत शीर्ष महिला फुटबलरले समान सुविधा पाउने छन्। कन्फेडेरेसनको निर्णयपछि ब्राजिलियन महिला टोलीका प्रशिक्षक पिया सुन्दाजेले घोषणालाई ‘ऐतिहासिक कदम’ को रुपमा चित्रित गरेकी छन्। सीबीएफले यो कदमलाई ‘फुटबलको समानतातर्फ परिवर्तनको यात्राको हिस्सा’ को रुपमा रहेको जनाएको छ।

ब्राजिल फुटबलका लागि चर्चित मुलुक हो। ब्राजिलियन पुरुष टोलीले ५ पटक विश्वकप फुटबल जितेका कारण पावरहाउसको रुपमा चिनिन्छ। ‘क्यारिनाहस’ उपमा पाएको ब्राजिलियन महिला टोली सन २००७ को विश्वकपमा उपविजेताका साथै २००४ र २००८ को ओलम्पिकमा रजत पदक प्राप्त गर्न सफल भएको थियो। हाल विश्व वरियतामा महिला टोली ८ औं स्थानमा रहेको छ।

ब्राजिलियन महिला टोलीले गत मार्चमा भएको टोरनोइ डे फ्रान्स आमन्त्रण फुटबलमा भाग लिएको थियो। नेदरल्यान्ड, फ्रान्स, क्यानडा सम्मिलित प्रतियोगितामा २ खेल बराबरी खेल्दै ब्राजिल समूहको अन्तिम स्थानमा रहेको थियो। समान तलब र भत्ताको निर्णय आगामी वर्ष हुने टोकियो ओलम्पिक र विश्वकप फुटबलमा समेत लागु हुने जनाइएको छ।  महिला र पुरुष फुटबलरलाई समान सुविधाको घोषणा गर्ने ब्राजिल पहिलो राष्ट्र भने होइन। यसअघि अस्ट्रेलिया, नर्वे र न्युजिल्यान्डले समान तलब दिने निर्णय गरेका थिए।

महिला फुटबलको पावरहाउसमै असमान सुविधा

महिला फुटबलमा एक छत्र राज गरेको अमेरिकारले अझै पनि महिला र पुरुष फुटबलरका लागि समान सुविधाको व्यवस्था गर्न सकेको छैन। अमेरिकी फुटबलमा पुरुषको तुलनामा महिला फुटबलरको प्रदर्शन उच्च छ। अमेरिकामा रहेको समान तलबसम्बन्धी ऐनका अनुसार आफूहरुमाथि विभेद भएको भन्दै गत वर्ष मार्चमा २८ जना महिला खेलाडीले अमेरिकी फुटबल संघ विरुद्ध हालेको मुद्दा अदालतबाट खारेज भएको थियो।

खेलाडीहरुले समान तलबसम्बन्धी ऐनमा उल्लेख भएको व्यवस्थाअनुसार नहुने गरी आफूहरुले कम तलब पाइरहेको भन्दै ६६ मिलियन डलर क्षतिपूर्तिको मागदाबी गरेका थिए। तर ३२ पृष्ठ लामो फैसला गर्दै लस एन्जलसको सेन्ट्रल क्यालिफोनियाको अमेरिकी जिल्ला अदालतका न्यायाधीश ग्यारी क्लाउसनरले महिला र पुरुष फुटबलर बीचको भेदभावको दाबीलाई खारेज गर्दै फुटबल संघका पक्षमा फैसला गरिदिएका थिए।

अदालतले फैसलामा ‘पुरुष टिमका खेलाडीको तुलनामा औषत खेल र अन्य आधारलाई हेर्दा महिला टिमका खेलाडीले नै बढी तलब पाइरहेको’ उल्लेख गरेको थियो। चार वटा विश्वकप उपाधिसँगै महिला टिमले पाँच पटक ओलम्पिक स्वर्ण पदक पनि जितेको छ। अदालतबाट निर्णय खारेज भएपछि कप्तान मेगान रापिनोले बराबर हकको लागि आफुहरु अझै पनि लडिरहने बताएकी थिइन्।

प्रतिक्रिया
सम्बन्धित समाचार