इलाम । इलाम नगरपालिकाकी एक स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पुष्टि भएको छ । ३६ वर्षकी महिला स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि जिल्ला समन्वय समितिमा निर्माण गरिएको आइसोलेसनमा राखिएको छ ।
ती महिला दम रोगले गाह्रो बनाएपछि गएको भदौ १ गतेदेखि नै विदामा बसेको बताइएको छ । विदामा रहेकै समयमा उनलाई बुधबार ज्वरो र रुघा खोकी देखिएको थियो ।
कोरोनाको लक्षण हुनसक्ने भन्दै उनी ‘बेड रेस्टमा’रहेकै समयमा भदौ ४ गते स्वाब सङ्कलन गरेर परीक्षणका लागि कोशी अस्पताल पठाइएको थियो । उनको कन्ट्रयाक ट्रेसिङ्गमा रहेकाहरुको संकलित स्वाब परीक्षणका लागि भोली पठाइने इलामका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए । स्वास्थ्यकर्मी सङ्क्रमित देखिएको यो नै जिल्लाको पहिलो घटना हो । हालसम्म इलाममा सङ्क्रमितको संख्या ८८ पुगेका छन् । ७८ जना डिस्चार्ज भएर घर फर्किसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।