इलाम । स्थानीय तहले पिसिआर खरिद गरि टेष्ट गर्न थालेका छन् । सदरमुकाम रहेको इलाम नगरपालिकाले ५ सय थान पिसिआर किट खरिद गरेको हो । सदरमुकामको शसस्त्र प्रहरी गणमा कोरोना संक्रमण भेटिएपछि नगर क्षेत्रमा आवश्यकताका आधारमा परिक्षणका लागि किटको खरिद गरिएको नगर प्रमुख महेश बस्नेतले बताए । कारोनाको संक्रमण जाँदा नगर क्षेत्रमा पिसिआर टेष्ट गर्नुपर्ने आवश्यकता पर्ने भएकाले पिसिआर किटको खरिद गरिएको प्रमुख बस्नेतले बताए ।
झापासँग सीमा जोडिएको रोङ गाउँपालिकाले पनि पिसिआर किट खरिद गरि परिक्षण शुरु गरेको छ । दुई चरणमा गरि गाउँपालिका ७ सय वटा पिसिआर किट खरिद गरिएको गाउँपालिका अध्यक्ष समसेर राईले बताए । पहिलो चरणमा २ सय थान र दोस्रो चरणमा ५ सय थान खरिद गरिएको हो । रोङ गाउँपालिकालाई माङ्सेबुङ्गले एक सय ३० थान पिसिआर किट सहयोग गरेको थियो ।
माङ्सेबुङ्ग गाउँपालिकाले ५ सय थान पिसिआर किट खरिद गरेर परिक्षण शुरु गरिरहेको प्रमुख प्रशासकिय अधिकृत डिल्लि सुबेदीले बताए । पिसिआर किट खरिद गरि कर्मचारी, सर्वधारण र स्वास्थ्यकर्मीको परिक्षण परिएको छ ।
सन्दकपुर गाउँपालिकाले ५ सय थान पिसिआर किट खरिद गरेको छ । अपर माई हाइड्रोमा काम गर्ने कर्मचारीमा कोरोना पोजेटिभ देखिएपछि कोरोना परिक्षणको दायरा बढाउन चार सय ५० थान किट खरिद गरेको अध्यक्ष उदयबहादूर राईले बताए । सन्दकपुर गाउँपालिकामा हालसम्म ८३ जनाको पिसिआर विधिबाट कोरोना रोगको परिक्षण गरिएको छ ।