सन्दकपुर । सम्भावनाले ढाकेको तर सबै तिरबाट ओझेलिएको एकजना उदाहरणीय अथक जडिबुटी अगुवा हुन् गेल्वु शेर्पा । उनले आफनो सारा जिवन नै जडीबुटी उत्पादनमा नै लगाए । आफनो बलबुता र प्रयासले भ्याएसम्म परम्परागत जडीबुटी संरक्षणमा लागिरहेका छन् । सुरुवातमा उनले जडीबुटी खेती गर्दा कसैबाट पनि हौसला पाएनन् । तर आफनो लगनशिलता र मेहनतलाई भने अझै छाडेका छैनन् ।
सन्दकपुर गाउँपालिका–५ जमुनाको जडिबुटी सम्बन्धि अगुवा गेल्बुले चिराइतो, विखमा, लौठसल्ला, सतुवा, मालागिरी, बोके टिमुर, जटामसी लगायत दजनौ प्रकारका जडिबुटीहरुको खेती गर्दै आइरहेका छन् । उनले जापानी नोट बनाउन प्रयोग हुँदै आएको लोक्ता प्रशोधन गर्ने फ्याक्टी पनि खोल्न खोजे तर सफल भएन् । जडिबुटीमा नया नया प्रयासहरु गरे तर उनलाई खास हौसला मिलेन् । उनले देशका विभिन्न ठाउहरुमा जडिबुटीको विउहरु बिक्री पनि गरे। लगातार एउटै कर्ममा लागिरहने उनको प्रवृत्तिले जो कोहीलाई जिज्ञासु मात्रै होइन सम्भावनाको खोजीमा सघाउ पुर्याउछ । १ लाख लगानीबाट सूरु भएकाे जडिबुटी खेतीमा हाल उनले ६ जनाले रोजगारी पाएका छन् ।
२ हजार मिटरमाथीको ५० रोपनी निजि आवादी जग्गामा उनले हाल विभिन्न प्रकारका जडीबुटीको खेती गरेका छन् । उनको बारीमा अहिले चिराइतो, विखबा, सतुवा, लौठसल्ला लगायत दजनौ प्रजातिका जडिबुटीहरु छन् । लकडाउनको समयमा समेत उनले विभिन्न प्रकारका जडिबुटीहरु विक्री गरे । पश्चिम नेपालबाट समेत उनकोमा जडिबुटीको बिउँ र विरुवा खरिद गर्नेहरु आउने गरेका छन् । सरकारी सहयोग नलिएका गेल्बुलाई अब भने सरकारले केही सहयोग गरिदियोस भन्ने लाग्छ ।
जडिबुटीको अर्थक सम्भावना भएपनि बजारिकरणको अभावमा संकटमा पर्दै गएको उनको भनाई छ । ‘ जडिबुटी खेतीमा किसानको आर्कषण आज पनि उस्तै छ । तर सरकारले उचित मुल्य र बजारको ग्यारेन्टी नगर्दा विस्थापित हुने क्रम बढेको हो । ’ उनले भने ‘ जडिबुटी खेती एक तर्फ स्वास्थ्यको लािग फाइदा अर्को तर्फ जिविकोपार्जनको राम्रो माध्यम बन्न सक्छ ।
जडिबुटीको अध्ययन गरी यसको बजारको विकास गर्न सकेमा यस क्षेत्रमा आर्थिक कायापलट हुने भएपनि सरकारले जडिबुटीको संकलन, निकासी र प्रशोधन सम्वन्धी स्पष्ट निति बनाउन नसकेको उनको गुनासो छ । जडिबुटीबारे बिस्तृत अध्ययन ,संरक्षण र बजार विकासमा जोड दिन सकेमा गाउँपालिकको मात्र नभएर समग्र जिल्लाको आर्थिक अबस्था उकास्न सकिने उनको धारणा छ ।
