इलामको सूर्योदय नगरपालिकामा टि टेस्टिङ प्रतियोगिता सम्पन्न गरिएको छ । चिया तथा कफि विकास बोर्डको आयोजना र टि स्टेशन प्रालिको सहआयोजनामा भएको कार्यक्रममा ८४ वटा चिया उद्योगको सहभागिता रहेको थियो । प्रतियोगितामा साखेजुङको हिमालय सांग्रिला टि प्रोडयुसर्स प्रथम, रक्तकाली टि इन्डस्ट्रीज द्धितिय र च्याङबा टि इन्डस्ट्रीज तृतिय भएका छन् । विजेता तथा उपविजेता उद्योगहरुलाई क्रमश ३० हजार, २० हजार र १० हजार नगदले सम्मानित गरिएको छ ।
वडा नं ८ पालटाँगे स्थित होटल इस्टर्न ब्लुको सभाहलमा भएको कार्यक्रममा प्रदेश नं एकका भुमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगरको प्रमुख आतिथ्यता रहेको थियो भने प्रदेशसभा सदस्य काजीमान कागते, सूर्योदय नगर प्रमुख रणबहादुर राईको विशेष आतिथ्यता रहेको थियो । औपचारिक कार्यक्रममा सहआयोजकको तर्फबाट सूर्योदय नगर उद्योग वाणिज्य संघका सदस्य प्रज्वल प्रधानले स्वागत मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि राज्यमन्त्री रानाले चिया उद्योग जताततै स्थापना भएकाले हरियो चियाको अभाव भएको बताउँदै अब नक्सा तयार गरेर मात्र उद्योग स्थापना गर्नुपर्ने बताए । अवैध रुपमा भारत तर्फ हरियो चियापत्ती निकास बढ्दै गएकाले नेपालका उद्योगमा अभाब देखिएकाले त्यसको नियन्त्रणमा नगरले भुमिका खेल्नुपर्नेमा जोड दिए । उनले नेपाल भारतको बजार कतिको अन्तर छ बुझन जरुरी देखिएको बताए ।
उनले नेपालमा गरिने परिक्षणमा विश्वास नहुँदा चिया निर्यातमा झमेला पैदा हुने गरेको बताए । ‘नेपाल र भारतको गुणस्तर मापदण्ड उस्तै छ । बिराटनगरमा चेकजाँच गराएर काठमाण्डौबाट प्रमाणपत्र लिएर पनि निकासी गर्न सकिन्छ ।’ मन्त्री रानाले भने ‘यसले बोडरमा रोक्ने समस्या समेत समाधान हुन्छ ।’
कार्यक्रममा बोल्दै प्रदेशसभा सदस्य कागतेले हरिया चियामा आइरहेको समस्या सर्वपक्षिय छलफल मार्फत समाधान गरिनुपर्ने बताए । उनले चिया तथा कफि विकास बोर्ड प्रदेशमा समेत गठन भए चियाको समस्या समाधानमा सहयोगी सिद्ध हुने बताए । कार्यक्रममा बोल्दै सूर्योदय नगर प्रमुख राईले गुणस्तरिय मापदण्ड कार्यविधि लागु गर्दा उद्योग वा किसान कसलाई असर परेको .भए छलफलबाट समाधान गर्न सकिने बताए । ‘मापदण्डको बिषयमा नगरले कहाँ विझायो यस सम्वन्धमा जति बेला छलफल गर्न पनि नगर तयार छ ।’ उनले भने
कार्यक्रमका सभाध्यक्ष चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक डा विष्णुप्रसाद भट्टराईले कोरोना संक्रमणले समस्या ल्याएन भने यहि भदौ महिनामा सूर्योदय नगरपालिकाबाट चियाको लागो घोषणा गर्ने प्रतिवद्धता जाहेर गरे । कार्यक्रममा इलाम उद्योग वाणिज्य संघका उपाध्यक्ष मदन श्रेष्ठ, स्मल टि का प्रमु आदित्य पराजुली, होडपा नेपालका महासचिव डिल्ली बास्तोला लगायतले मन्तव्य राखेका थिए ।
कोरोना भाइरसको संक्रमणको बेला चिया उद्योगी तथा चिया मेकरहरु वर्तमान अवस्थाको बारेमा जानकारी एवम अनुभवहरु आदान प्रदान गर्ने उद्धेश्यका साथ अन्तरक्रिया र टि टेस्टिङ प्रतियोगिता आयोजना गरिएको बताइएको छ ।