फाकफोकथुम । इलामको पश्चिमी क्षेत्र फाकफोकथुमबासीहरुको बर्खाको ४ महिना सदरमुकामसंग सम्वन्ध छुटिन्छ । इलामको कर्णालीको रुपमा चिनिएको फाकफोकथुम सदरमुकाम इलामसम्म सडक सञ्जाल जोडिएपनि ग्रामीण भेगका कच्ची मोटरबाटो हिलाम्मे हुँदा सवारीसाधन संचालन हुँदैन् । यस बर्ष लगातार परेको अबिर बर्षाका कारण सडकहरु भत्किएकाे कारण एक गाउँबाट अर्को गाउँ पुग्न समेत समस्या हुँदै आएको स्थानीबासिन्दाको गुनासो छ ।
स्थानीय सरकारले सडक संचालनमा ध्यान नदिँदा गाउँपालिका कार्यालयबाट माङसेबुङ देउमाई दोभान मंगलबारे बजार हुँदै इलाम बजारसम्म सबारी संचालनमा कठिनाई हुँदै आएको यातायात व्यवसायी इन्द्र सापकोटा गुनासो गर्छन् । बाटो हिलाम्मे भएपछि धकेलेर यातायात संचालन गर्नुपर्ने बाध्यता रहेको सापकोटा बताउँछन् । सबारीसधान संचालन नहुँदा स्थानीयबासिन्दा देउमाई नगरपालिकाको केन्द्र मंगलबारेसम्म हिडेर जानुपर्ने बाध्यात्मक स्थिती रहेको छ ।फाकफोकथुम– फुएतप्पाको लिम्बुगाउँदेखी आङ्चेरेङ्गसम्मको बाटो पहिरोको क्षतिग्रस्त बनाएको छ ।
जलकन्या प्रावि आसपासको क्षेत्र पहिरोको जोखिमा भएपनि गाउँपालिका र वडाले अनुगमन नगरेको स्थानीय जनक सार्की गुनासो गर्छन् । पहिरोले जलकन्या आधारभुत विद्यालय संरक्षणमा ध्यान नपुगे केही बर्षमा अवशेष समेत नरहने स्थानीय तुलसी गिरी बताउँछन् । अहिले यस भेगका बासिन्दाहरू सदरमुकाम काम बिशेषले जानु परेमा पाँचथरको मिक्लाजुङ गाउँपालिका हुँदै जाने गरेका छन् । त्यसैगरी माङसेबुङ र देउमाई दोभानको बाटो प्रयोग गर्ने गरेका छन् । एक दिनमा पुग्न सकिने सो बाटो बर्खाको समयमा छिचोल्न २/३ दिन लाग्ने टयाक्सी चालक भुपाल गिरी बताउँछन् ।