इलाम : इलामको २ विद्यालय सहित सरकारले देशभरबाट १०० वटा नमुना विद्यालय छनोट गरेको छ। विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले बुधबार देशभरका १०० विद्यालयलाई नमुना विकासका लागि छनोट विद्यालयमा इलामको चुलाचुली गाउँपालिकाको जनता माध्यमि विद्यालय र फाकफोकथुम गाउँपालिकाको सिंहदेवी माध्यमिक विद्यालय परेको हो । शिक्षा मन्त्रालयको शिक्षा तथा मानव स्रोत विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको बुधबार बसेको मन्त्रीस्तरीय बैठकले विद्यालयहरु छनोट गर्ने निर्णय गरेको हो।
‘प्रस्तुत विषयमा यस केन्द्रबाट आर्थिक वर्ष २०७६/०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरू छनोट नभएका स्थानीय तहअन्तर्गत १०० वटा विद्यालयहरू नमुना विकासका लागि छनोट गर्न मिति २०७६ असोज १६ गतेको गोरखापत्रमा सूचना प्रकाशन गरी आह्वान गरिएअनुसार आवेदन गरेका विद्यालयहरू मध्येबाट नमुना विद्यालय विकास एवम् सञ्चालन निर्देशिका २०७४ (पहिलो संसोधन २०७५ सहित) अनुसार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय (मन्त्रीस्तर) को मिति २०७७र३र३१ को निर्णय अुसार देहाय बमोजिमको विद्यालयहरू छनोट भएको ब्यहोरा निर्देशानुसार अनुरोध छ’ केन्द्रको विज्ञप्तिमा भनिएको छ। विद्यालय क्षेत्र विकास योजनाअनुसार सबै स्थानीय तहमा क्रमश: विद्यालय विकास गर्ने लक्ष्य रहेको पनि केन्द्रले जनाएको छ।