इलामस्थित माई खोलामा निर्माण भएको ९.६ मेगावाटको सुपर माई ‘ए’ जलविद्युत् आयोजनाबाट लक्षित अवधि भन्दा ७ महिना अगाडि नै विद्युत् उत्पादन भएको छ । सगरमाथा जलविद्युत् कम्पनीले निर्माण गरेको आयोजनाले गत जेठ ३२ गतेबाट व्यापारिक उत्पादन सुरु गरेको हो । १५ दिन परीक्षण गरेपछि व्यापारिक उत्पादन सुरु गरेको कम्पनीका कार्यकारी निर्देशक मोहनविक्रम कार्कीले बताए । उत्पादित विद्युत् १२ किलोमिटर ३३ केभी प्रसारण लाइनबाट गोदक सबस्टेसनमा जोडिएको छ ।
‘नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता ९पिपिए० अनुसार २०७७ पुस २९ गतेबाट विद्युत् उत्पादन गर्ने तालिका छ,’ उनले भने, ‘कोरोना महामारीका बेला पनि नियमित काम गरेर जेठबाटै उत्पादन सुरु गर्न सक्यौं ।’ लक्ष्यभन्दा अगाडि आयोजना सम्पन्न गर्न सकिएकाले अनुमानित लागत पनि घटेको कार्कीले बताए । यद्यपि, अन्तिम लागत टुंगो लाग्न बाँकी छ । आयोजना निर्माण गर्न १ अर्ब ७९ करोड रुपैयाँ अनुमान गरिएको थियो । यसमध्ये १ अर्ब ३४ करोड ऋण र ४५ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।
विगतको अनुभव तथा लगानी गर्ने समूह पनि अनुभवी भएकाले लक्ष्यभन्दा अगाडि आयोजना सम्पन्न गर्न सकिएको कार्कीको भनाइ छ । ‘सबै ठेकेदारले हामीले दिएको तालिका अनुसार काम गरे । स्थानीय प्रशासन र जिल्लाबासीबाट सधैं सहयोग मिल्यो,’ उनले थपे, ‘प्राधिकरणको प्राविधिक टोलीले पनि समयमै परीक्षण गरिदिँदा उत्पादन सुरु गर्न सकियो ।’
वार्षिक ५६.४६९ गिगावाट घन्टा विद्युत् उत्पादन हुने आयोजनाको विद्युत् बिक्रीबाट वार्षिक ३० करोड २५ लाख रुपैयाँ आम्दानी हुनेछ । बैंकको ऋण तिर्ने अवधि १२ वर्ष तोकिएको छ । सिभिल भूगोल इन्फ्रास्ट्रक्चर र हाइड्रो मेकानिकल काम डाउन हाइड्रो तथा विद्युत्गृहमा इलेक्ट्रो मेकानिकल उपकरण जडान भारतको मिकामिडी एचपिपी कम्पनीले गरेका थिए ।
सरकारले कोरोना महामारी नियन्त्रण गर्न गरेको लकडाउन अवधिमा कामदारको संख्या घटाएर आयोजनाको निर्माण जारी राखिएको थियो । ७.८ मेगावाटको सफल निर्माण गरेको समूहले नै आयोजनामा लगानी गरेको छ । सुपर माईले लक्ष्यभन्दा २१ महिना अगाडि विद्युत उत्पादन सुरु गरेको थियो । उर्जा खबरबाट