सरकारले जारी संसद अधिवेशन अन्त्य गर्ने निर्णय लिएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले संसद अधिवेशन अन्त्यका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीभित्र राजनीतिक किचलो बढेसँगै सरकारले यस्तो निर्णय लिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले घेराबन्दी गरेको अवस्थामा सरकारले चालु बर्खे अधिवेशन अन्त्यका लागि कदम चालेको हो। बिहीबार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेर बालुवाटार फर्किएपछि मन्त्रिपरिषद् बसेको थियो। उक्त मन्त्रिपरिषद्ले संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हो।
संसद अधिवेशन अन्त्य भएसँगै सरकारले आफ्ना लागि जरूरी कामहरु अध्यादेशमार्फत अघि बढाउन पाउने भएको छ। नेकपामा विवाद चुलिइरहेका बेला प्रधानमन्त्री ओलीले केही दिनको बीचमा राष्ट्रपतिसँग चार पटकसम्म भेट गरिसकेका छन्। उनले एकै दिन दुई पटकसम्म राष्ट्रपतिलाई शीतल निवासमा पुगेर भेटेका थिए।