फिक्कलः इलामको सूर्योदय नगरपालिका वडा नम्बर १० पुरानो फिक्कलमा अवस्थित श्री कानक माई भिमेश्वर हरि माइथान संरक्षणको माग गर्दै नेवाः देय दवु नगर समितिले स्थानीय सरकारको ध्यानाकर्षण गराएको छ । करिब १३७ बर्ष पुरानो उक्त धरोहर दिनप्रतिदिन जिर्ण बन्दै गएपछि संरक्षणमा पहल गर्न गराउन आग्रह गर्दै समितिले नगरप्रमुख रणबहादुर राईलाई ध्यानाकर्षण पत्र बुझाएको हो ।
वि सं १९४० सालमा स्थापना भएको उक्त माइथान असार ११ गते दिउँसो करिब ३ बजेको समयमा मे १ ज ३०२३ नम्बरको पिकअपले यसको पुर्वपट्टिको पर्खालमा ठक्कर दिई क्षति भएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ । नेपालको राजपत्रमा प्रकाशित प्राचीन स्मारक संरक्षण ऐन २०१३ अनुसार १०० बर्ष पुरानो मठमन्दिर पुननिर्माण गर्नु अगावै नेपाल सरकारको अनुमति लिनुपर्ने भए वमोजिम सोको अधिनमा रहि स्थानिय सरकारको ध्यानाकर्षण गराईएको समितिले बताएको छ ।
सोही पत्र सूर्योदय नगरपालिकाको सामाजिक विकास समिति संयोजक,नेपाल आदिवासी जनजाती महासंघ सूर्योदय नगर समन्वय परिषदका अध्यक्ष र १० नम्बर वडाध्यक्ष समेतलाई बुझाईएको समितिका अध्यक्ष राजन प्रधानले जानकारी दिए ।
