फिक्कल । गत बर्षको तुलनामा असार १५ गतेसम्म इलाममा धान रोपाई ३ प्रतिशतले बृद्धि भएको छ । कृषि ज्ञान केन्द्र इलामका अनुसार यस बर्ष १५ प्रतिशत रोपाई भएको हो । गत बर्ष असार १५ गतेसम्म १२ प्रतिशत रोपाई भएको थियो । कृषि ज्ञान केन्द्रका प्रमुख शालिकराम भट्टराईले समयमै पर्याप्त बर्षा भएपछि पहाडी जिल्लामा इलाममा गत बर्षको तुलनामा बढि रोपाई भएको बताए । जिल्लाको तल्लो क्षेत्रमा रोपाइँ भए पनि माथिल्लो क्षेत्रमा ढिलाई गरी धान रोप्ने गरिएको छ ।
इलामको बढी धान उत्पादन हुने माई नगरपालिका र चुलाचुली गाउँपालिकामा रोपाइँ शुरु गरिएको छ । जिल्लाको देउमाई नगरपालिका , इलाम नगरपालिका , सूर्योदय नगरपालिका , रोङ गाउँपालिका र, माईजोगमाई गाउँपालिका , माङसेबुङ गाउँपालिका , फाकफोकथुम गाउँपालिका र सन्दकपुर गाउँपालिकाका धान उत्पादन हुने क्षेत्रमा भर्खर रोपाइँको सुरसार हुँदै गरेको भट्टराइले बताए । इलाममा चैते र बर्खे गरी दुई समय धान रोपीने गरिएको छ । जिल्लामा हर्बीनास, राधाकृष्ण, अन्नपूर्ण जातका धान रोपीदै आएको कार्यालय प्रमुख भट्टराईले जानकारी दिए ।
जिल्लामा चैते र बर्षे गरी १४ हजार सात सय ६३ हेक्टर क्षेत्रफल जमिनमा धान रोपिने गरिएको छ । जस मध्ये १३ हजार ६ सय ९ हेक्टरमा बर्खे र ११ सय ५४ हेक्टरमा चैते धान रोप्ने गरिएको कार्यालयले जनाएको छ । कृषि ज्ञानकेन्द्रको तथ्यांक अनुसार जिल्लामा ४१ हजार १ सय ६२ मेट्रिक टन बर्खे र पाँच हजार तीन सय ६६ मेट्रिक टन चैते धान उत्पान हुँदै आएको छ । कार्यालय प्रमुख भट्टराईले इलाम जिल्ला खाद्यान्न उत्पादनको हिसावले आफुमा आत्मनिर्भर रहेको जानकारी दिए ।
उनले भने ‘ इलाममा धान मात्र नभए आलु , मकै गहुँ कोदो जस्ता खाद्यबाली प्रसस्त उत्पादन हुँने भएकाले यहिका बालीले खाद्यान्न धान्ने गरेको छ ।’ जिल्लाका किसानले उत्पादन गरेका खाद्यबस्तु एक अर्कामा किनबेच र साटासाट गरी उपभोग गर्ने गरेका छन् ।’ बिगतका बर्षहरुमा जिल्लाको गोलाखर्क , गोदक , दानाबारी , नामसालिङ लगायतका स्थानमा सामुहीक रुपमा बेठी लगाएर रोपाइँ गर्ने चलन रहे पनि यसपालिको असार १५ मा लकडाउनका कारण कुनै कार्यक्रम भएका छैनन् । सामान्य रोपाइँ गरिए पनि सामुहिक रुपमा रोपाइँ गर्दै आएका किसानले यस पटकको असार १५ खल्लो महसुस गरेका छन् ।