चुलाचुली : चुलाचुली गाउँपालिका बन्नु अघि यहाँ साकफारा र चुलाचुली गाविस थिए । दुवै गाविसमा विकट नै पर्थे । दुवै गाविस पुग्न झापा नझरी हुदैनथ्यो र प्रशासनिक काम गर्न सदरमुकाम पुग्न घण्टौ पैदल र गाडीको यात्रा गर्नु पथ्र्यो ।
काम नपरी सदरमुकाम नजाने र जाँदापनि दुई दिनको समय माया नै मार्नुपर्ने चुलाचुली र साकफाराबासीको बाध्यता थियो । बजेट सदरमुकाममा बनाइन्थ्यो, बजेट बनाउँदा यहाँको विकासबारे कमै चर्चा हुन्थ्यो, यहाँको नेतृत्वको सायद सहभागि पनि हुदैनथ्यो, लामो समय जनप्रतिनिधि विहिन अवस्थाको जिल्ला स्थित सर्वदलीय संयन्त्रमा । र दुवै गाविसबासीको एउटै आवाज थियो–‘हामी इलामबासी भएपनि इलामले हेप्यो, झापा नजिक छ, उसले हेरेन ।
सदरमुकामबाट गाडीकै यात्रा गर्ने हो भने पनि ५ घण्टा त चुलाचुली पुग्नै अझै लाग्छ । त्यो पनि झापा नटेकी उपाय छैन । र साकफारा पुग्न खुट्टा नबजारे उपाय नै थिएन । हिउँदमा जसोतसो गाडी पुग्थ्यो मावा खोलैखोला हुँदै आजभन्दा ५ वर्ष अघि । वर्षातमा जुत्ता खोलेर खाली खुट्टै हिड्नुपथ्र्यो । र अहिले दुवै गाविस मिलेर बनेको चुलाचुली गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईलाई पनि उ बेला हामी हेपिएकै छौँ, की जस्तो लाग्थ्यो । तर अहिले उनै यो विकट भु–भागमा बसोबास गर्ने जनतालाई समृद्धिको यात्रामा डो¥याउन अधिकार सहितको स्थानीय सरकार प्रमुख छन् । र भन्दैछन्–‘हामी बजेट हुने हो भने धेरै काम गर्न सक्थ्यौँ ।’
हजारौँको बलिदान र ७ दशकपछिको राजनीतिक लडाईबाट बनेको संविधान र संविधानलाई टेकेर अधिकार सहितको स्थानीय सरकार बनेपछि मात्रै चुलाचुली गाउँपालिकाबासीले विकास, समृद्धि र सरकारको अनुभुति पाएका छन् ।’ विकास, समृद्धिका कुरा नारा सिमित र सरकार सदरमुकाममा सिमित हुँदा हेपिएको अनुभुति गर्ने चुलाचुलीबासीका लागि संघीयतापछिको स्थानीय सरकारले उज्यालोको किरण छर्दैछ । स्थानीय सरकार गठन भएपछि शुरुका दिनमा व्यवस्थापकिय समस्यालाई सबै जनप्रतिनिधि मिलेर समाधान गर्दै लग्यौँ,–गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईले भने–‘शुरुको आर्थिक वर्षमा देखिने काम गर्न त सकेनौ, तर अहिले हाम्रो कामको गति तिब्र भएको छ ।’

उनी भन्छन्–‘स्थानीय सरकार गठन पछि जिल्लाले पहिलेको जस्तो सबै बिषयमा हेर्नुपर्छ भन्ने छैन, हामी आफै हिड्न थालेका छौँ । हामीलाई जिल्लाले थोरै बिषयमा मात्रै देख्नुपर्ने र हेर्नुपर्ने होला’,–अध्यक्ष राईले भने–‘प्रदेश र संघीय सरकारसँग सोझै समन्वय हुने भएकाले पहिले जस्तो गुनासो हामीमा अहिले छैन शुद्ध मनले भन्दा हामीले पहिलो वर्ष गर्न सकिनौँ, तर दोस्रो र तेस्रो वर्षसम्म आइपुग्दा धेरै पूर्वाधार निर्माण गरेका छौँ र हामी विकासका गतिमा अघि बढेका छौँ, यो गति अब रोकिदैन’ विकासले धेरैपछि परेको गाउँपालिकामा अहिले जनताको कामका लागि आवश्यक प्रशासनिक भवन, विषयगत कार्यालय संचालन गर्न चाहिने पूर्वाधार निर्माणदेखि सडक कालोपत्रे गर्ने कामले प्राथमिकता पाएपछि धमाधम निर्माण हुँदैछन् ।
साविक चुलाचुली गाविसको भवनमा मुख्य प्रशासनिक काम हुँदै आएको चुलाचुली गाउँपालिकाले आफ्नो प्रशासनिक भवन, वडा कार्यालय र स्वास्थ्य सेवा दिने कार्यालयहरुको पनि निर्माणको काम धमाधम गरिरहेको छ । प्रमुख प्रशासकिय अधिकृत काजिमान राई भन्छन्–‘हामीले लकडाउनमा पनि एकै दिन काम रोकेका छैनौँ, अहिले निर्माण हुँदै गरेका पूवार्धारका संरचना यसै आर्थिक वर्ष सक्नेछौँ ।’ ‘ गाउँपालिकाको प्रशासनिक भवन निर्माणको काम अन्तिम चरणमा पुगेको छ । चालु आर्थिक वर्षलाई प्रशासनिक पूर्वाधार निर्माणको वर्षका रुपमा लिएका छौँ ।’ चालु आर्थिक वर्षमा चुलाचुली गाउँपालिकाको ३८ करोड रुपैयाँको बजेट गाउँसभाबाट पास गरेको थियो ।

‘सम्भव भएसम्म स्थानीय श्रमको उपयोग गर्ने निति गाउँपालिकाले लिएको छ,– प्रशासकिय अधिकृत काजिमान राईले भने–‘स्थानीय श्रम र सिपको उपयोग गरेर विकास निर्माणको काममा जुटका छौँ र ५ लाख माथिका विकास निर्माणका काम निर्माण व्यवसायीबाट हुँदै आएको छ ।’ गाउँपालिकाको प्रमुख प्रशासकिय भवनसँगै वडा नम्बर एक, तीन, चार, पाँच नम्बर वडाको भवन निर्माणको काम अन्तिम चरणमा पुगेका छन् । त्यस्तै स्वास्थ्य सेवा प्रदानका लागि वडा नम्बर ४ र ५ मा आधारभुत स्वास्थ्य केन्द्रका भवन पनि धमाधम निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ ।
विकासले पछि परेको क्षेत्र भएकाले अधिकार सहितको स्थानीय सरकार गठन भएपछि प्राथमिकताको छनौट गरि विकास निर्माणको काम हुँदै आएको वडा नम्बर एकका अध्यक्ष पूर्ण लावतीले बताए । ‘बजेट विनियोजन गर्ने धेरै आधार र सीमा भएकाले एकै वर्षमा जनताको माग अनुसारको योजना पुरा गर्न नसकिने भएकाले प्राथमिकताका आधारमा बजेट विनियोजन भएर काम गरिँदै आएका छौँ’, अध्यक्ष लावतीले भने–‘स्थानीय सरकार गठन भएपछि हिजोको जस्तो सानातिना योजना जिल्लामा पुगेर माग्नुनपर्ने भएकाले जनताका गुनासाहरुलाई छिटो सम्बोधन गर्न संक्षम भएका छौँ ।’
‘बजेट सानो भएपनि विद्युत सेवा आगामि आर्थिक वर्षमा पुरै विस्तार गर्नेछौँ’ अध्यक्ष लावतीले भने–‘ग्रामीण सडक सबै वडामा पुगेको छ, ४ र ५ नम्बर वडाको खानेपानी समस्या हटाउन काम भइरहेका छन् । हामी अब पूर्वाधारको निर्माणको कामसँगै कृषि क्षेत्रको गुरुयोजना बनाएर व्यवसायीकरण गर्न अग्रसर छौँ ।’ स्थानीय सरकार बनेपछि चुलाचुली गाउँपालिकामा विकासका गतिमा अघि बढेकाले जनताहरु व्यवसायिक कृषि क्षेत्रमा लागेको वडा नम्बर ३ का अध्यक्ष नरेन्द्र लावतीले बताए ।

‘कालोपत्रेले नछोएको चुलाचुलीमा अहिले १७ सय मिटर सडक कालोपत्रे गरिनुका साथै सबै वडा जोड्ने सडकको स्तरोन्नती गरिएकाले विकास सँगैँ जनताहरु व्यवसयातिर लागेको छन्’–लावतीले भने–‘झापाको दमकसँग सीमा जोडिएकाले बजारको समस्या नहुँदा किसानको उत्पादनले राम्रो गरि मुल्य पाउँछ । दशकौ वर्षदेखि विकासले पछि परेको चुलाचुलीमा जनप्रनिधि आउनुअघि धेरै कठिनाई थिए ।’–लावतीले भने–‘विद्युत नपुगेको ठाउँमा विद्युत विस्तारका काम भएका छन् भने खानेपानी, सिचाई, सडक विस्तार तथा स्तरोन्नतीका काम धमाधम भइरहेका छन् ।’ उनी भन्छन्–‘विकासले फड्को मार्दै गरेको चुलाचुलीलाई सवृद्ध बनाउन अब यहाँका खोलामा पक्कि पुल निर्माणको संघीय र प्रदेश सरकारसँग माग गरिरहेका छौँ ।’
विकासका योजनाहरुको कामको गुणस्तरमा पनि गाउँपालिकाले कडाईका साथ अनुगमन गर्दै आएको छ । जनप्रनिधिहरुलाई प्राविधिक ज्ञान नभएपनि विकासका योजनाहरुको कामको इञ्जिनियरको उपस्थितिमा अनुगमन गर्ने भएकाले भएका योजनाहरुको नियमित अनुगमन हुँदै आएको गाउँपालिका उपाध्यक्ष निर्मला दाहालले बताइन् । ‘हामी आफ्ना योजना गुणस्तरीय बनाउन नियमित रुपमा अनुगमन गर्छौ ।’ –दाहालले भनिन्–‘कुनैपनि योजनाको काम कम गुणस्तरको हुन नदिन कर्मचारी र जनप्रतिनिधि सजग भएका छौँ ।’

चुलाचुली गाउँपालिकाको स्थायी घर भएका पत्रकार निशेष राईलाई पनि संघीयतापछि अधिकारसहितको स्थानीय सरकारले गरेका कामले गाउँमा विकास निर्माणले गति पाएको अनुभुति छ । ‘गाविस हुँदा बजेट पनि कम्ति थियो, जनताका योजनाहरु धेरै हुने भएकाले समेट्न बजेट हुदैनथ्यो ।’ राई भन्छन्–‘ अहिले बजेटको आकार पनि ठुलो छ र जनताका मागलाई सम्बोधन गर्न जनप्रनिधिहरुले आफै निर्णय गर्न सक्ने भएकाले चाँडो काम हुने गरेका छन् । पहिलेको तुलनमा विकास बजेट पनी धेरै हुने भएकाले सडक, खानेपानी, विद्युत, शिक्षा, स्वास्थ्य र पूर्वाधार निर्माणमा समानुपातीक हिसावले काम भइरहेका छन् ।’
उनी भन्छन्–‘ विकासको यहि गति हो भने पहिलो पाँच वर्षे कार्यकालमा जनताका धेरै विकासे योजनाको माग पुरा हुन्छ ।’ गाउँपालिका अध्यक्ष प्रदिपचन्द्र राईका अनुसार पाँच वर्षे कार्यकालको अवधिमा प्रशासनिक कामका लागि भौतिक पूर्वाधारले गाउँपालिका सम्पन्न हुनेछ । उनी भन्छन्–‘सबैको घर–घरमा विद्युत विस्तार हुनेछ र जनता हिलो सडकमा हिडनुपर्नेछैन ।’ पुर्व पश्चिम राजमार्गसँग नजिक भएपनि चुलाचुली गाउँपालिकाको इलाम सदरमुकामसँग जोडिने सोझो सडक पहुँच छैन । त्यसका लागि स्थानीय सरकारकाले झापाको फक्को नपारीकन सोझै इलाम सदरमुकाम जोड्ने सडक निर्माणमा पनि जोड दिनुपर्ने देखिन्छ ।