Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

महावाणिज्यदुतावासको पत्रलाई बेवास्ता गर्दै बंगला सरकारले रोक्यो मेची पुलमै चिया र अलैँचीका ट्रक

महावाणिज्यदुतावासको पत्रलाई बेवास्ता गर्दै बंगला सरकारले रोक्यो मेची पुलमै चिया र अलैँचीका ट्रक

  • सन्देश सम्वाददाता
  • शनिबार, असार ६ २०७७


महावाणिज्यदुतावासको पत्रलाई बेवास्ता गर्दै बंगला सरकारले रोक्यो मेची पुलमै चिया र अलैँचीका ट्रक

झापा । पश्चिम बङ्गाल सरकारले नेपालका लागि कोलकातास्थित नेपाली महावाणिज्यदुतावासको आग्रह पत्रलाई बेवास्ता गरेको छ । केन्द्रीय सरकारको निर्देशन विपरीत पश्चिम बङ्गाल राज्य सरकारले काँकडभिट्टा– रानीगंञ्ज (पानीटंयाकी) नाकाबाट भारत तथा बङ्गलादेश निर्यात हुने नेपाली वस्तु ठप्प पारेपछि नेपाली महावाणिज्यदुतावासले बङ्गाल सरकारलाई ध्यानाकर्षण गराउँदै नाका सुचारु गराउने विषयमा लिखित पत्रमार्फत आग्रह गरेको थियो ।
नेपाली महावाणिज्यदुतावासको आग्रहलाई समेत बेवास्ता गर्दै बङ्गाल सरकारले भारत तथा बंगालदेश निर्यात हुन लागेको २२ वटा ट्रक मेची पुलमा रोकेर राखेका छन् ।

बङ्गला सरकारले बिहीबार दिउँसोदेखि मेची पुलको सीमा नाकामै ट्रकहरू रोकेर राखेका हुन् । ती ट्रकहरूमा नेपाली वस्तु चिया, अलैँची र अम्रिसो लोड गरिएको छ । चिया र अलैँची भारत तथा अम्रिसो बङ्गलादेश निर्यात हुँदै आइरहेको छ । मेची पुलमा लामबद्ध रूपमा ट्रक रोकिँदा आयातमा समेत समस्या उत्पन्न भएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाबाट व्यवसायीले जाँच पास गरी भारत तथा बङ्गलादेश निर्यातका लागि ट्रकहरू पठाएको थियो । तर, बङ्गाल सरकारले आदेश नआएको भन्दै भारतीय सुरक्षाकर्मी र भन्सार कर्मचारीले मेची पुलमै गाडीहरू रोकिदिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए ।

‘कोरोना भाइरस संक्रमणको कारण बङ्गाल सरकारले सो नाकाबाट आयात मात्र खुलाएको छ, निर्यात नखुलाउँदा समस्या उत्पन्न भएको हो,’ डिएसपी पोखरेलले भने ।’ ‘बङ्गाल सरकारले आदेश दिएपछि मात्र गाडी प्रवेश गर्न पाउँछ,’ उनले भने, ‘यसका लागि सबै तहबाट कुराकानी भइरहेको जानकारी प्राप्त भएको छ ।’ बङ्गाल सरकारले केन्द्रीय सरकारको आदेश नमान्दा काँकडभिट्टाबाट नेपाली वस्तु निर्यातमा समस्या उत्पन्न भएको नेपाल चिया उत्पादक सङ्घ झापाका सल्लाहकार तथा चिया उद्योगी जेपी शर्माले जानकारी दिए ।

बङ्गालले आयात खुलाउँदा चाहिँ हुने, निर्यात बन्द गर्नु बेठिक भएको बताउँदै उद्योगी शर्माले भने, ‘दुई देश सरकारको सम्झौता विपरीत बङ्गालले सीमा नाकामा अवरोध खडा गरेको हो । अब बङ्गाल सरकारले यस्तै गर्छन् भने त्यहाँबाट आयात हुने सबै गाडी सीमामै रोक्न यहाँका व्यवसायी पछि हट्दैन ।’
यस्तो छ पत्रमा
नेपाली महावाणिज्यदुतावास कोलकताले जुन ४ तारिख अर्थात् जेठ २२ गते पश्चिम बङ्गाल सरकारलाई काँकडभिट्टा–रानीगञ्ज ९पानीटंयाकी, नकसालबारी० नाकाबाट निर्यात बन्द भएकोले त्यसलाई तत्काल सुचारु गराउन लिखित पत्रमार्फत आग्रह गरेको छ । नेपाली महावाणिज्यदुतावासका निमित्त बाणिज्य दूत नारायणप्रसाद शर्माले बङ्गाल सरकारका मुख्य सचिव राजीव सिंहलाई सो पत्र लेखेका हुन् । पत्रमा भनिएको छ, निरन्तर तथा सहज रूपमा सो नाकाबाट आयात मात्र भइरहेकोले निर्यात पनि खुलाइदिन ध्यानाकर्षण गराइन्छ ।
भारत सरकारको गृह मन्त्रालयबाट मिति १७ मे २०२० मा प्राप्त भएको पत्रमा समेत काँकडभिट्टा– रानीगञ्ज नाकाबाट सरसामान सुचारु गराउने र पहिला जस्तै गरी आयात तथा निर्यातलाई सहज बनाउने भनी उल्लेख गरिएको विषयमा समेत बङ्गाल सरकारलाई बुझाएको पत्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार