इलाम । पुर्व प्रधानमन्त्री एवम नेकपाका बरिष्ठ नेता झलनाथ खनालले रुकुमको चौरजहारी नगरपालिकामा भएको घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । खनालले विज्ञप्ती जारी गर्दै अपराधमा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गरी पिडित परिवारलाई न्याय दिन नेपाल सरकारसँग माग गरेका हुन् । उनले आधुनिक समाज र मानव जातिले सृजना गरेका मूल्यहरूलाई समेत चुनौती दिनेगरी भएको उक्त नृशंस घटना प्रति ध्यानाकर्षण भएको जनाएका छन् । खनालले पिडित परिवारलाई न्याय पाउनेमा आशावादी रहन् आग्रह गरे ।
खनालले जारी गरेको विज्ञप्तीमा भनिएको ‘सम्पूर्ण दलित तथा पीडित समुदायहरु,तपाइहरुलाई हामी विश्वास दिलाउछौं सरकारसहित सिंगो राज्य तपाईंहरूको साथमा छ । निर्वाचित जनप्रतिनिधिहरू र सिंगो नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) तपाईंहरूको साथमा छ । विभिन्न राजनैतिक एवं सामाजिक संघ संस्थाहरू समेत तपाईंहरूको साथमा छन् ।’ उनले नेपाल सरकार गृह मन्त्रालयले गठन गरेको छानबिन टोली र मानव अधिकार आयोगले समेत घटनास्थलमा पुगेर छानबिनको प्रक्रियालाई अगाडी बढाइरहेको जनाए । खनालले छानबिन न्यायिक निश्पक्ष र दबाब तथा प्रभावमा नपरी अपराधमा संलग्नलाई कारवाही गर्दै पिडितलाई न्यायको अनुभुत हुने कुरामा जोड दिए ।
गत जेठ १० गते शनिबार चौरजहारी नगरपालिका वडा नं ८ सोती निबासी सुष्मा मल्लसँगको नवराज विश्वकर्माको अन्तरजातीय प्रेम सम्बन्धका कारण भएको कुटपिटबाट ५ जना युवाको ज्यान गएको थियो । घटनामा जाजरकोट भेरी नगरपालिकाका युवाहरू नबराज विक, गणेश बुढा, लोकेन्द्र सुनार र सञ्जु विक तथा चौरजहारी नगरपालिका–१ का टीकाराम सुनारको शव भेरी नदिको विभिन्न स्थानमा फेला परेको छ भने गोविन्द शाहीको खोजी कार्य अझै जारी छ । आज सम्म उनको अवस्था पत्ता लाग्न सकेको छैन ।
