Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

प्रदेश एकका संक्रमितमध्ये आधाभन्दा बढी झापाकै, कचनकवलमै ४८

प्रदेश एकका संक्रमितमध्ये आधाभन्दा बढी झापाकै, कचनकवलमै ४८

  • पार्थ मण्डल
  • बिहिबार, जेष्ठ १५ २०७७


प्रदेश एकका संक्रमितमध्ये आधाभन्दा बढी झापाकै, कचनकवलमै ४८

भद्रपुर : प्रदेश १ मा सबैभन्दा बढी कोरोना सङ्क्रमित दक्षिणी झापाको कचनकवल गाउँपालिकामा भेटिएका छन्। बुधबार झापामा १७ जना कोरोना सङ्क्रमित पुष्टि भएसँगै कचनकवलमा मात्रै सङ्क्रमितको सङ्ख्या ४८ पुगेको छ। यसअघि कचनकवलमा ३३ जना कोरोना सङ्क्रमित भेटिएकोमा बुधबार १५ जना नयाँ सङ्क्रमित थपिएका हुन्। योसँगै झापामा मात्रै सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ, भने प्रदेश १ मा सङ्क्रमितको सङ्ख्या १०४ पुगेको हो। प्रदेश एकको संख्यामध्ये आधाभन्दा बढी झापाकै रहेको छ।
जिल्लाको गौरदाह नगरपालिकामा आज दुई जना नयाँ कोरोना सङ्क्रमित भेटिएको छ। बाह्रदशी गाउँपालिकामा दुई, झापा गाउँपालिका र दमक नगरपालिका एकर एक जना सङ्क्रमित भेटिएको थियो। त्यसमध्ये बाह्रदशी र दमकका एकर एक जना उपचारपछि निको भएर घर फर्किसकेका छन्। झापामा बुधबार भेटिएका १७ जना पनि भारतको सङ्क्रमित क्षेत्रबाटै स्वदेश फर्किएका हुन्। कचनकवलमा भेटिएको १५ जना भारतको मुम्बई, दिल्ली, गुजरात, अलिगढ भन्ने स्थानबाट आएको कचनकवल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर यादवले जानकारी दिए।
उनका अनुसार सङ्क्रमित सबैजना गाउँपालिका- ५ स्थित जानकी आधारभूत विद्यालयको क्वारेनटाइनमा बसेका थिए। सङ्क्रमित हुनेमध्ये वडा नम्बर ५ का १३ जना, वडा नम्बर ६ र ७ का एकर एक जना रहेको छ। उनीहरूको उमेर समूह १९ देखि ५७ वर्षसम्मका हुन्। गाउँपालिकाले आइतबार स्वास्थ्यकर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी र क्वारेनटाइनमा बसेकाहरू गरी १६२ जनाको स्वाब सङ्कलन गरी पिसीआरका लागि विराटनगर पठाएको थियो। त्यसमध्ये बुधवार ५६ जनाको रिपोर्ट आएको बताउँदै स्वास्थ्य प्रमुख यादवले भने, ‘अरूको रिपोर्ट आउने क्रममा रहेको छ। जानकीको क्वारेनटाइनमा बसेका ३२, स्वास्थ्यकर्मी र प्रहरीसहित ४६ जनाको आएको रिपोर्टमा १५ जना पोजेटिभ देखिएको हो। त्यसमा स्वास्थ्यकर्मी र प्रहरी रिपोर्ट भने नेगेटिभ आएको छ। अरू २० जनाको रिपोर्ट महेन्द्र रत्न माविको क्वारेनटाइनमा बसेकोबाट आएको हो। त्यहाँ कसैकोमा पनि पोजेटिभ देखिएन।’ कचनकवलमा हाल १०९ जनाको स्वाब सङ्कलन गर्न बाँकी रहेको बताउँदै उनले भने, ‘लक्ष्मी मावि बनियानीमा ७२ जना, घेरावारिमा २७ र पाठमारीको जानकी माविको क्वारेनटाइन १० जना रहेको छ। उनीहरू सबै जना हिजोअस्ती आएर बसेका हुन्।’
भारतबाट आउने सबै जनालाई सुरक्षित रूपमा क्वारेनटाइनमा लगेर राखिएकोले गाउँघरमा संक्रमण फैलिन नपाएको गाउँपालिकाका अध्यक्ष अञ्जार आलमले जानकारी दिए। गाउँपालिका भारतबाट साढे ३ सय बढी गाउँबासी फर्किसकेका छन्, अरू पनि आउने क्रममा रहेको छ। आउने सबैलाई क्वारेनटाइनमा राखिने उनले बताए। यता गाउँपालिकाले संक्रमण रोक्न जेठ १६ गतेसम्म पुरै गाउँपालिकाले सिल गरेको छ। उता गौरदाह नगरपालिकामा भेटिएका सङ्क्रमित दुई जना वडा नम्बर ९ का रहेका छन्। उनीहरू दुवै जना भारतको मद्रासबाट आएका हुन्। यता बुधवार भेटिएका १७ जना सङ्क्रमितलाई उपचारका लागि धरान वा विराटनगर पठाइने छ।

प्रतिक्रिया
सम्बन्धित समाचार