इलाम । आज आईक्याप (एसियाली देशहरुको अन्तर्राष्ट्रिय सम्मेलन ) को स्थायी समिति बैठकमा नेपालका पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बरिष्ठ नेता, झलनाथ खनालले सम्बोधन गरेका छन् । आईक्यापका संस्थापक अध्यक्ष जोसे डी भेनेसिया, अध्यक्षतामा भएको उक्त भिडियो कन्फेरेन्समा आईक्यापका उपाध्यक्षहरु, महासचिव र आईक्यापका स्थायी समितिका सदस्यहरू, महिला तथा अन्य विशिष्ट ब्यक्तिहरुकाे सहभागीता थियो । भिडियो कन्फेरेन्स नेपाली समय अनुसार १२ बजेबाट शुरु भएको थियो । लकडाउनका कारण उक्त भिडियो कन्फेरेन्स खनालले आफ्नै निजिनिवास डल्लुबाट संचारको प्रबिधि स्काइप को माध्यमबाट गरेका थिए । कन्फेरेन्स बिभिन्न देशका १९ भन्दा बढी प्रतिनिधिहरुको सहभागिता थियो ।
यस्तो रहयो खनालको सम्वोधन
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट म तपाईं सबैलाई हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु । साथै यस संकटको घडीमा म तपाईं र तपाईंको परिवारको स्वास्थ्य र सुरक्षाको कामना गर्न चाहन्छु ।
सर्वप्रथम, म काेभिड १९ बाट ज्यान गुमाउनुहुने सम्पुर्ण मृतकहरु प्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछु, साथै पीडित शोक सन्तप्त परिवारप्रति गहिरो संमवेदना व्यक्त गर्दछु । साथै यस महामारीको बिरुद्धमा अग्रभागमा रहेर लडिरहेका सबै डाक्टरहरु, नर्सहरु, स्वास्थ्य कार्यकर्ताहरु र अन्य सबैलाई सम्मान साथ सहानुभुति ब्यक्त गर्दछु । हामीले आईक्यापको अन्तिम अनलाइन बैठक सञ्चालन गरे यता काेभिड १९ को संक्रमण अत्याधिक बढदै विश्वव्यापी महामारीको रूपमा परिणत भएको छ । यसले ५१ लाख भन्दा बढी मानिसहरूलाई संक्रमित गरिसकेको छ र विश्वभरि ३ लाख ३० हजार भन्दा बढीको ज्यान लिएको छ । साथै यो महामारीले विश्वव्यापी अर्थतन्त्रलाई तहसनहस पार्दै हाम्रो अगाडि गम्भीर आर्थिक चुनौतीहरु खडा गरिदिएको छ ।
अधिकांश देशहरूको आर्थिक वृद्धिदर अत्यन्त न्युन वा नकारात्मक दिशातर्फ उन्मुख भएको छ । उत्पादनका सबै क्षेत्रहरू र आपूर्तिका श्रृंखलाहरु अवरुद्ध भएका छन् । काम गरिखाने वर्गका मानिसहरु विशेषगरी आप्रवासी कामदारहरुका लागि यो महामारीको समय अत्यन्त कठिन भएको छ र उनीहरुले सबैभन्दा कष्टकर जीवन भोगिरहेका छन् । कोरोना महामारी विश्वव्यापीरुपमा अझैं फैलने क्रममा छ र महामारी कहिले नियन्त्रण हुन्छ भन्ने कुराको अनुमान गर्ने स्थिति समेत बनेको छैन। यद्यपि चीन र रिपब्लिक कोरिया जस्ता केही देशहरूले कोरोना भाइरसको फैलावटलाई नियन्त्रण गर्न उल्लेखनीय सफलताहरू प्राप्त गरेका छन् । हामीले यी देशहरूलाई बधाई दिनुपर्दछ । भाइरस बिरूद्धको लडाईमा उनीहरूको अनुभव अन्य देशहरूका लागि समेत उपयोगी हुनेछ ।
नेपाल सरकारले पनि कोरोना भाइरस विरूद्ध सबै सम्भावित उपायहरु अपनाएको छ । मार्च २४ पछि देश बन्दाबन्दीमा छ । नेपालमा हालसम्म ४८७ सक्रमित भएका छन् र ३ जनाको मृत्यु हुन पुगेको छ । नेपाल सरकारले ७५ हजार भन्दा बढी क्वारन्टाइनहरू निर्माण गरेको छ। यसको अलावा देशै भरि आइसोलेसन वार्ड र प्रयोगशालाहरूको राम्रो व्यवस्थापन गरेको छ। हालसम्म १ लाख १८ हजार परीक्षणहरू गरिएका छन् । उपयुक्त स्रोतको अभाव हुँदाहुँदै पनि भाइरस नियन्त्रणको लागि आवश्यक स्वास्थ्य सेवासँग संम्बन्धीत पूर्वाधारहरू देशै भरि विस्तार भइरहेका छन् । हाम्रो दक्षिण छिमेक भारतमा काेभिड १९ व्यापक रूपमा फैलिएको छ । एकातर्फ भारतमा काम गर्दै आएका नेपाली कामदारहरूको ठूलो संख्या नेपाल फर्कने क्रममा छ र अर्कोतर्फ अनियमित र छिद्रयुक्त सिमाना भएको कारणले आज नेपाल ठूलो जोखिम र असुरक्षाको स्थितिमा छ ।
विश्वव्यापी स्वास्थ्य आपतकालीन यस घडीमा राजनीतिक दलहरू र सरकारहरूबीच सहकार्य र एकता आवश्यक छ । कोरोना महामारीको बिरूद्ध लड्न आ—आफ्ना सरकारहरूलाई प्रोत्साहित गर्न, एशियाली राजनीतिक दलहरूको विचमा आपसी समझदारी, सहयोग र सामूहिक कार्य महत्वपुर्ण हुन आउँछ । एसियाली राजनीतिक दलहरू र नेताहरूले एसियाली देशहरूकाबीचमा मात्र सहकार्य जुटाउन नभई एशिया बाहेकका अन्य देशहरूसँग पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छन् । सक्षम देश र सरकारहरूले यो विषम परिस्थितिमा सहयोग आवश्यक परेका अन्य देशहरुलाई आवश्यक सहयोग गर्न सक्छन् ।
विश्वका सबै देशहरूले विगतका पाठहरूलाई आत्मसाथ गर्दै आफ्ना प्रयासहरुलाई अगाडि बढाउनुपर्ने देखिन्छ । मानव र प्रकृती विचको विश्वव्यापी सम्बन्ध निष्पक्ष र न्यायसंगत हुनु आवश्यक छ । यस संकटको घडीमा महामारीको विरूद्ध लड्न सबै मानवीय प्रयासहरू कोरोना नियन्त्रणमा केन्द्रित गर्नुपर्दछ साथै विभिन्न देशहरु बीचमा भइरहेका शक्ति संघर्ष र युद्धहरु तुरुन्त रोक्नुपर्दछ ।
भाइरस विरुद्धको लडाईं सँगसँगै अत्यावश्यक वस्तुहरूको उत्पादन र आपूर्ति समेत नियमित हुनु पर्दछ । यो समय भाइरसको उत्पत्ति, प्रसार र त्यससँग सम्बन्धित षडयन्त्रका सिद्धान्तहरुमा अल्झने र चिन्तनमनन गर्ने समय होइन । यो समय भनेको भाइरस बिरुद्ध लडन् आपसी तालमेल बनाउने, उचित खोपका लागि थप अनुसन्धान गर्ने र आपसी मानवियता बचाउनु नै हो ।
एसियाली राष्ट्रहरूले कोरोना भाइरस विरुद्धको लडाँइमा ठूलो शक्ति र लचिलोपना देखाएका छन् ।
एसियाली राष्ट्रहरूले स्रोतको उचित उपयोग र विज्ञान,प्रविधिको उचित प्रयोग गर्दै आपसमा सौहार्दपूर्ण सहकार्यको उत्कृष्ट नमुना प्रदर्शन गरीरहेको छन । यो सहकार्य र विश्वासलाई फराकिलो पार्नुपर्दछ र साझा शत्रुको रुपमा रहेको कोरोना भाइरसको बिरूद्ध लड्न आपसी विश्वासलाई थप सुदृढ पार्नु पर्दछ । हाम्रा साझा प्रयास र चाहनाले नै यो महामारी चाँडै नियन्त्रणमा आउनेछ भन्ने आशा व्यक्त गर्न चाहन्छु । अन्तमा, आईक्याप सचिवालयलाई यो महत्वपूर्ण बैठक आयोजना गरेकोमा र मलाई आफ्नो विचार अभिव्यक्त गर्न यो महत्वपूर्ण अवसर प्रदान गरेकोमा धन्यवाद दिन चाहन्छु ।