इलाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रगतले लेखिएको पत्रको बिषयमा सतारुढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियू इलाममा मतभेद पैदा भएको छ । जेठ ८ गते केन्द्रिय सदस्य रविन्द्र सुवेदी र जिल्ला संयोजक प्रवेश पराजुलीको नेतृत्वमा ९ जना विद्यार्थीहरुले सिमा अतिक्रमणको सम्वन्धमा रगतले पत्र लेखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इमेल मार्फत पठाएका थिए । तर अर्का केन्द्रिय सदस्य सन्धीभक्त शंकर र जिल्ला सह-संयोजक विपिन पोख्रेलले त्यो कामलाई गुटको रक्षाका लागि संगठनलाई ओझेलमा पार्ने प्रयासको रुपमा आरोप लगाए ।

‘विद्यार्थीहरुले यस्ता विषयमा आवाज उठाउनु पर्छ भन्नेमा हामी पनि दृढ छौ तर यो कार्यशैली संगठनको हित विरुद्ध छ । गुटको रक्षा गर्नका लागि गरिएको यस्ता कामले संगठनलाई फाइदा पुग्दैन् । ’ शंकरले भने । हस्ताक्षरको सम्वन्धमा पुर्व अखिल क्रान्तिकारी र केही पुर्व अखिलका विद्यार्थीहरुलाई समेत जानकारी नगराइएको आरोप छ ।
भारतीय प्रधानमन्त्री मोदीलाई अनेरास्ववियू इलामको रगतको चिठ्ठी
लाेकल सन्देशसँग कुरा गर्दै अनेरास्ववियू केन्द्रिय कमिटि निर्वाचन आयोगका सदस्य इश्वरी तामाङले पछिल्लो कदम केन्द्रिय सदस्य रविन्द्र सुवेदी सहितको स्वार्थ र आत्माकेन्द्रित राजनीतिको एउटा रुप भएको आरोप लगाए । ‘ काम राम्रो भएपनि कार्यशैली गलत भएको छ । संगठनको एकतापछि अनेरास्ववियूमा सवैको दायित्व समान हुन्छ । एउटै सिंगो पाटो नै छुटाइएको छ । यस्ता क्रम एक पटक हैन पटक पटक भएको छ । केन्द्रिय सदस्यले मात्र संगठन चलाउने हैन् हेक्का रहोस ’ उनले चुनौती दिए ‘ अनेरास्ववियू कसैको पेवा हैन् । सवैको भुमिका समान हुनुपर्छ ’ शंकर र पोख्रेल पुर्व अखिल क्रान्तिकारी हुन् भने तामाङ अखिलका पुर्व जिल्ला अध्यक्ष समेत हुन् ।

रगतको हस्ताक्षरको नेतृत्व गरेका केन्द्रिय सदस्य सुवेदीले यस बिषयमा पटक पटक सरसल्लाह र छलफल भएको बताए । उनले एकतापछि दुवै संगठनले जिम्मेवारी उतिकै भएकाले अर्का केन्द्रिय सदस्य र जिल्ला सह-संयोजकले रगतले पत्र लेख्ने सन्र्दभकाे छलफलमा जागरुकता नदेखाएपछि उपलव्ध भएका विद्यार्थीहरुको रगतले पत्र लेखेर पठाइएको बताए ।
विवाद बारे जानकारी छैन : अनेरास्ववियू संयोजक महर
रगतले भारतिय प्रधामन्त्री मोदीलाई रगतले पत्र लेखिएको सम्वन्धमा केन्द्रसँगको समन्वय भएको अनेरास्ववियू संयोजक ऐन महरले बताए । उनले केन्द्रिय सदस्य र जिल्ला संयोजकले आफुलाई जानकारी गराएर नै कार्य गरेको बताए । ‘साथीहरुले जुन रगतले पत्र लेख्नुभयो त्यो सहि हो त्यसका सम्वन्धमा मैले धन्यवाद पनि दिएको थिए ।’ उनले भने
एकपक्षिय रुपमा रगतले हस्ताक्षर गरेको बारेमा सन्देशकर्मीको प्रश्नमा आफुलाई जानकारी नभएको महरले बताए । ‘ त्यस्तो मलाई केही थाहा छैन । एक पक्षिय भयो भन्ने बारेमा कसैले जानकारी पनि गराएको छैन् । राष्ट्रियताको सम्बन्धमा जे गरियो त्यो एकदमै रचनात्मक छ । मैले नै गर्नुस भनेकै हो । त्यहाँ को समेटियो को छुट्यो जानकारी भएन् ’
रगतले पत्र लेख्ने कार्य संस्थागत भएन् : सहसंयोजक तामाङ
नेपाली सिमा अतिक्रमणको सन्र्दभमा रगतले पत्र लेख्ने काम संस्थागत नभएको केन्द्रिय सहसंयोजक रन्जित तामाङले बताए । राष्ट्रियताको बिषयमा नयाँ शैलीमा केही गर्नुपर्छ । त्यसका लागि ध्यानार्कषण गराउनु राम्रो कुरा हो । तर संस्थागत नभएको गुनासो आएको छ । ’ उनले भने ‘ राष्ट्रियता र सिमा रक्षाको बारेमा केन्द्रिय कमिटिलाई सोध्नु जरुरी छैन तर कमिटिगत रुपमा सल्लाह हुनुपर्छ । विधि र पद्धतीलाई संस्थागत रुपमा मिलाउनुप¥थ्यो । त्यस्तो हुन नसकेको पाइएको छ ।’ उनले गुटको राजनितीलाई प्रश्रय दिएको संकेत गरे ।