इलाम । देभशर कोरोनाको बिरामीहरु बढेसँगै कोभिड–१९ जिल्ला संकट व्यवस्थापन केन्द्र इलामले अन्तराष्ट्रिय सिमा नाका र अन्य जिल्लासँग जोडिएको सिमा क्षेत्रमा सुरक्षा व्यवस्थालाई थप कडा गर्ने भएको छ । आज बसेको समितिको बैठकले इलाममा कोरोनाको संभावित जोखिम बढ्न नदिन प्रदेश सरकारको निर्णय कार्यान्वयनका लागि सिमा सुरक्षा लगायत विभिन्न १० वटा निर्णयहरु गरेको हो । जिल्लाका १० वटै स्थानिय तहका पालिका स्तरिय विपद व्यवस्थापन केन्द्रबाट हालसम्म भएका गरेर गतिविधि जिल्ला स्तरिय कोभिड–१९ विपद व्यवस्थापन केन्द्रलाई नियमित रुपमा उपलव्ध गराइदिन अनुरोध गर्ने निर्णय गरेको छ ।
अन्तराष्ट्रिय सिमा क्षेत्र जोडिएको इलाममा केही दिनपछि भारत र तेश्रो मुलुकबाट नागरिक जिल्ला भित्रिने अवस्था देखिएकाले उनीहरुको स्वास्थ्य परिक्षणका लागि बैशाख ३० गतेको बैठकबाट आरडीटी किट ५ हजार तथा पिसीआर वा भिटिएम किट २ हजार थान प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग माग गर्ने निर्णय भएको छ । कोरोना नियन्त्रण सम्वन्धी प्रदेश समितिको बैठकले तोकेका प्रावधनालाई इलाममा समेत कार्यान्वय गरिने भएको छ । राष्ट्रिय गौरवका आयोजना जलविद्युत आयोजना र विकासका आयोजनाहरु संचालन गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको मापदण्ड र जनशक्ति प्रयोग गरी स्थानिय तहसँगको समन्वयमा संचालन गर्ने साथै सम्बन्धित जिम्मेवार कार्यालय वा निकायले नियमित अनुगमन गर्ने निर्णय भएको छ ।
विकासका आयोजनामा प्रयोग हुने सामाग्रीहरु ढुङ्गा, गिटी, बालुवा उत्पादन, संकलन र भण्डारण विहान ६ बजेबाट बेलुका ५ बजेसम्म संचालन गर्ने र उक्त सामाग्री ढुवानी बेलुका ६ बजेबाट बिहान ६ बजेसम्म संचालन गर्न निर्णय भएको छ । प्रशोधन नगरी प्रयोग गरिने नदिजन्य पर्दाथहरु विहान ६ बजेबाट बेलुका ६ बजेसम्म ढुवानी गर्दा बाधा नपर्ने समितिले निर्णय गरेको छ । नेपाल सरकार र कोभिड–१९ विपद व्यवस्थापन केन्द्र प्रादेशिक समितिको बैठकको निर्णय अनुसार तोकिएको स्थान र स्थल बन्द रहने साथै तोकिए बमोजिमको क्रियाकलाप समेत संचालन गर्न नपाइने भएको छ ।
झापाबाट प्रवेश गर्ने इलामको रोङ गाउँपालिकाको जोरकलशमा उद्योग वाणिज्य संघ इलाम शाखाले निजी क्षेत्रसँग समन्वय गरी नियमित रुपमा ढुवानी लगायतका सवारीसाधनहरुलाई डिस्इन्फेक्सन सिस्टमको व्यवस्थापन गरी संचालन गर्न अनुरोध गर्ने भएको हो । इलाम नगरपालिका–९ मा निर्माणाधिन बसपार्क भवन र सो क्षेत्र भित्र रहेका जग्गा तथा अन्य पुर्वाधार भएको स्थानमा कोभिड–१९ सँग सम्बन्धित क्वारेन्टाइन निर्माणका लागि खनाल कन्स्ट्रक्सन प्रालि र नगरपालिकाले समन्वय गरी सहरी विकास तथा भवन कार्यालय इलामले क्वारेन्टाइन बेड संचालनको व्यवस्था मिलाई कोभिड–१९ संकट व्यवस्थापन केन्द्रलाई जानकारी गराउने निर्णय भएको छ ।

