इलाम । भारतले लिपुलेक क्षेत्रमा नेपाली भुमि मिचेर सडक बनाएको विरोधमा इलाम सदरमुकाममा प्रर्दशन गर्न खोज्दा प्रहरीले पक्राउ गरेका नेपाली कांग्रेसका जिल्ल सचिव निरज खड्गी र नेपाल विद्यार्थी संघका अध्यक्ष प्रकाश भट्टराई रिहा भएका छन् । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको आयोजनामा प्रर्दशनको तयारी हुँदा पक्राउ परेका अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य समेत रहेका खड्गी र नेबि संघ अध्यक्ष भट्टराई दुई घण्टा पछि रिहा भएका हुन् ।
प्रदर्शनको तयारीका क्रममा प्रशासनले हस्तक्षेप भएपनि कोणसभा भएको नेपाली कांग्रेसका सचिव खगेन्द्र देवानले जानकारी दिए । पक्राउ पर्नु भन्दा आठ घण्टा अघि सचिव खड्गीले आफ्नो फेसबुक प्रोफाइलमा ‘उग्र राष्ट्रवादीको लम्पसारवादी अवतार विरुद्ध’ र ‘भारतीय मिचाहा प्रवृत्ति विरुद्ध कालोझण्डा लेखिएको प्रोफइल पिक्चर राखेका थिए । रिहा भए लगतै खड्गीले आफनो फेसबुकमा सहयोगका लागि धन्यवाद समेत ज्ञापन गरेका छन् ।
नेवि संघका अध्यक्ष भट्टराईले पक्राउ पर्नु भन्दा तीन घण्टा अघि इलाम चोक बजारमा साँझ भेला भएर भारतिय हस्तक्षेप र लम्पसारवादी सरकारको भण्डाफोर गर्न आव्हान गरेका थिए । सचिव देवानले सरकारले भुमीको रक्षाका लागि आवाज उठाउनेलाई रोकेर लम्पसारवादी चरित्र देखाएको आरोप लगाए । रिहा भएपछि सचिव खड्गीले विना कारण पक्राउ गरेर राष्ट्रिवादी आवाज दवाउने प्रयास गरेको प्रतिकृया दिए । नेविसंघ अध्यक्ष भट्टराईले सरकारले आवाजलाई दवाएर भारतको मिचाहा प्रवृत्ति प्रति लम्पसारवाद प्रदर्शन गरेको प्रतिकृया दिए ।