इलाम । नेपाली कांग्रेसका जिल्ला सचिव निरोज खड्गी र नेपाल बिद्यार्थी संघ इलामका अध्यक्ष प्रकाश भट्टराईलाई प्रहरीले पक्राउ गरेको छ । भारतले लिपुलेकमा नेपाली भूमि मिचेर सडक निर्माण गरेको प्रति बिरोध गर्न इलाम चोक बजारमा भेला भएका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य समेत रहेका खड्गी र नेबि संघका कार्यबाहक अध्यक्ष भट्टराईलाई प्रहरीले पक्राउ गरेर गाडीमा राखेर जिल्ला प्रहरी कार्यालय लगेको छ ।
सार्वभौमिकता र अखण्डताको सम्मान गर्न र अतिक्रमणकारी कदम त्याग्न आग्रह गर्दै नेपाली कांग्रेस इलामले बिरोध गर्न भेला भएका मध्ये दुईजनालाई प्रहरीले पक्राउ गरेको हो । लोकतन्त्रमा बोल्न र बिरोध गर्न पाउने हक भए पनि इलाम प्रहरीले दिउँसैबाट बाक्लो रुपमा प्रहरी परिचालन गरेर कार्यक्रम माथी हस्तक्षेप गरेको कांग्रेस कार्यकर्ताहरुको आरोप छ । उनीहरुले बोल्न पाउने हक समेत खोसेको भन्दै बिरोध गरेका छन् । नेपाली कांग्रेस इलामले भातृ संस्था सहित बिरोध गर्न सुरु गरेको थियो ।