इलाम । आँखामा चोट लागेर बिराटनगरमा उपचार गराइरहेकी उदयपुरको बेलका नगरपालिका– ५ की समिक्षा मगरलाई विराटनगर सांग्रिला स्र्पोटिङ क्लबले आर्थिक सहयोग गरेको छ । बिराटनगर आँखा अस्पतालमा उपचाररत उनलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य रुपेश अधिकारी अध्यक्ष रहेको क्लबले २५ हजार रुपैया उपचारको लागि सहयोग गरेको हो । गत बैशाख १२ गते घरमा काम गरिरहेको अवस्थामा ढुङ्गा लागेर उनको दाँया आँखामा चोट लागेको थियो ।

आर्थिक अवस्था कमजोर रहेको मगर परिवारलाई क्लबका सचिव काशी पराजुली र कोषाध्यक्ष दिपेन थापाले अस्पताल पुगेर रकम हस्तान्तरण गरेका हुन् । लकडाउनका कारण समस्या भएपछि समिक्षा लाई बैशाख १३ गते उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (घोपा) लगिएको थियो । ५ दिन घोपामा राखेर उपचारपछि आँखामा गम्भिर समस्या भएपछि हिजो मात्र विराटनगर ल्याइएको समिक्षाकी प्रशिक्षक भगवती राना मगरले जानकारी दिइन् ।

उनका अनुसार समिक्षाको आँखा भित्र ढुङ्गाको कण पसेका कारण इन्फेसक्सन कम गर्ने औषधी प्रयोग भइरहेको छ । ‘डाक्टरहरूले शल्यक्रिया हुनुभन्दा अघि समिक्षालाई उच्च एन्टिबायोटिक खुराक दिन थालेका छन् । शल्यक्रियाको लागि केही दिन पर्खनुपर्नेछ’ प्रशिक्षक रानाले भनिन् । अखिल नेपाल फुटबल संघले समेत समिक्षालाई २५ हजार सहयोग प्रदान गरेको छ । एन्फाको सहायक महासचिव बसन्त अर्यालले समिक्षाको बुबा दलबहादुर मगरलाई सहयाेग प्रदान गरेका हुन् । उनको उपचारका लागि एन्फाले थप सहयोग समेत गर्ने भएको छ ।
