इलाम : शहीद रत्नकुमार वान्तवाको ६९औं जन्म जयन्ती एवं ४१औं स्मृति दिवसको अवसरमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) इलाम जिल्ला कमिटीले आज एक प्रेस वक्तव्य जारी गरेर शहीद रत्नकुमार वान्तवाले देखाएको बाटोमा अघि बढ्ने प्रतिबद्धता जाहेर गरेको छ । पार्टी जिल्ला कमिटी अध्यक्ष एवं १ नं प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री रामबहादुर मगर र जिल्ला कमिटी सचिव सोममायाँ राई सिन्धुद्वारा संयुक्त हस्ताक्षरित प्रेस वक्तव्यमा शहीद रत्नप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दै उनको योगदानको सम्मान एवं सम्झना गरिएको छ ।
आज सिंगो विश्व नै कोरोना भाइरस (कोभिड–१९) को महामारीले आक्रान्त बनेको र सोही कारणले गर्दा नेपालमा समेत संघीय सरकारले घोषणा गरेबमोजिम लकडाउन भइरहको हुँदा कुनै सार्वजनीक कार्यक्रमको आयोजना गर्ने अवस्था नभएपनि पार्टीको तर्फबाट प्रेस वक्तव्य जारी गरेर शहीद रत्नप्रति श्रद्धासुमन व्यक्त गरिएको बताइएको छ ।
यसरी मारिएका थिए शहिद रत्नकुमार वान्तवा
तत्कालीन नेकपा (माले) का केन्द्रीय सदस्य रहेका नेपाली वामपन्थी एवं प्रजातान्त्रिक आन्दोलनका योद्धा वान्तवाको जन्म विसं २००८ साल चैत २७ गते भएको थियो भने विसं २०३५ साल चैत २७ गतेकै दिन पंचायती शासकहरुले उनको गोली हानी हत्या गरेका थिए । संयोग नै मान्नुपर्दछ कि हत्या गरिएको समयमा उनको उमेर पनि २७ बर्ष नै थियो ।
राहत वितरणमा ध्यान दिन अनुरोध :
सोही विज्ञप्तिमार्फत् नेकपा इलाम जिल्ला कमिटीले लकडाउनको कारण घरभित्र बस्न बाध्य अति विपन्न र असाहय नागरिक र तिनका परिवारलाई आवश्यक राहत वितरणमा ध्यान दिनको लागि जिल्लाका सबै स्थानीय सरकारहरुलाई अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ –‘विद्यमान लकडाउनको कारण खानको लागि समस्या पर्ने अति विपन्न, असायह मानिसहरु र परिवारको जिम्मेवारी राज्यले लिंदै स्थानीय सरकार अन्तर्गतको वडा समितिबाट राहत वितरणको कार्य धमाधम भईरहेको छ । राज्यको मापदण्ड अनुरुप तोकिएका मानिसहरुको सहज पहुँच हुनेगरी राहत वितरण गर्नको लागि हामी जिल्लाका सबै स्थानीय सरकारहरुलाई अनुरोध गर्दछौं ।’
यस्तै नेकपा इलामले प्रेस वक्तव्य मार्फत् कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र उपचारको काममा अझ बढी समन्वय एवं सहकार्य गरेर अगाडि बढ्नको लागि जिल्लास्थित सम्पूर्ण राजनीतिक दल, प्रहरी, प्रशासन लगायत राज्यका सम्पूर्ण निकायहरु, उद्योगी व्यवसायीहरु लगायत सरोकारवाला सबैमा आह्वान गरेको छ ।