काठमाण्डौ । कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले नेपालको कृषि क्षेत्रलाई सुधार्न भन्दै पाँच आधार तयार गरेका छन्। मन्त्रालयमा बुधबार पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भुसालले यी बुँदाहरुबारे जानकारी गराएका हुन्। किसानलाई न्यूनतम बचत हुने कृषि उत्पादन बचततर्फ पहलकदमी लिनुपर्छ भन्ने निष्कर्षमा मन्त्रालय पुगेको उल्लेख गर्दै मन्त्री भुसालद्वारा तयार गरिएको प्रतिवेदनमा नीतिगत आधारका रुपमा पाँचवटा बुँदा उल्लेख गरिएको छ। कृषि सुधार्ने आधार भनी दाबी गरेकामध्ये पहिलो बुँदामा उत्पादनमा सामग्रीमा अनुदान दिने उल्लेख छ।

यस्तै क्रमशः सबै किसानको घरदैलोमा प्राविधिक सेवा–टेवा, सस्तो र सुलभ ऋण, बाली तथा पशुपन्छी बीमा र न्यूनतम बचतको ग्यारेन्टी गर्ने उल्लेख छ। यसबारे पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भुसालले आयात प्रतिस्थापन गर्ने चुनौती चिर्न तयारी थालेको र सन्तोषजनक काम भइरहेको दावी गरे। उनले भने, ‘आजको कृषि कसरी अघि जानुपर्छ भन्नेबारे प्रधानमन्त्रीसँग छलफल भएको थियो, प्रधानमन्त्रीज्यूले थप तयारीका साथ काम गर्न भन्नुभएको छ।’
६० वर्षको अवधिमा कृषिबाट नतिजा नआएकाले अब प्रदेश र स्थानीय तहसँग मिलेर कृषि नीति तयार गरिने भुसालले बताए। जनतालाई विकास दिने गरी मन्त्रालय बलियो हुनुपर्ने बताउँदै भुसालले कर्मचारीतन्त्र हाकिम खुशी पार्नेतर्फ लागेको उल्लेख गरे। विदेशीले पनि यहीअनुसार काम गरिदिँदा समस्या भएको र अब यस्तो अवस्थालाई तोड्नै पर्ने मन्त्री भुसालले बताए। कृषि पेशालाई आकर्षक बनाउन खोजिएपनि यो निकै गाह्रो र दुःखी काम रहेको तथा नाफा पनि अत्यन्तै कम रहेको भुसालले उल्लेख गरे। नाफा र बचतले उत्पादनलाई माथ गरेन भने विज्ञान र विकासले पनि काम नगर्ने उनले बताए।