पशुपतिनगर : बंगाली पर्यटकको घुइँचो रहने पशुपतिनगर बजार केही दिन यताबाट सुनसान छ। पसलका प्रायः सटर बन्द छन्। बाह्रै महिना भारतीय ग्राहकको भीडभाड रहेन पशुपतिनगर कारोना भाइरस (कोभिड–१९) संक्रमणका कारण सुनसान बनेको हो। शनिबारबाट भारत सरकारले नाकाबाट ओहोरदोहोर हुने सवारी साधन बन्द गराएपछि बजार पूरै सुनसान बनेको थियो। यदपी आइतबार अपराहन्न बाट नाका खुलेपनि बजार भने अmभै सुनसान नै छ । कोरोनाको प्रकोप फैलन सक्ने भन्दै भारतको पश्चिम बंगाल सरकारले शनिबार यातायतका साधन आवतजावतमा रोक लगाएको थियो।

आइतबार उक्त नाका हुँदै आवतजावत गर्ने क्रम सामान्य मात्र रहेको थियो । घर फिर्ने र कामका लागि भनेर दुवै देश छिरेकालाई आ–आफनो गन्तब्यमा फर्कन भनी सकिएको भारतीय अधिकारीले जानकारी दिएका छन्। इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक रमेश राईले नेपालतर्फ सुरक्षित अवस्था रहे पनि उच्च सजकता अपनाएको बताए। ‘अहिलेसम्म उच्च ज्वरो देखिएका सातजना भारतीय नागरिकलाई कोरोनाको आशंकामा उतै फर्काइएको छ’ उनले भने।
सूर्योदय नगरपालिकाले संचालन गरेको हेल्प डेक्समा परीक्षण गराउदा उनीहरूमा १०४ डिग्रीभन्दा माथि ज्वरो देखिएपछि भारत नै फर्काइएको छ। भारतिय पर्यटकले धानेको पशुपतिनगर बजारमा आवागमन ठप्प भएपछि व्यपार व्यसायमा कमी आएको हो। पर्यटक आउन छोडेपछि किनमेलसमेत ठप्प भएको सूर्योदय नगर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्दन अग्रवालले बताए। भारतीय व्यापारी र पर्यटकको भरमा टिकेको पशुपतिनगर बजारमा अहिले स्थानीय मानिस मात्र देखिन्छन्। स्थानीयसमेत कोरोनाको त्रासले घर बाहिर निस्कन छोडेका छन्। पशुपतिनगरमा रहेको भन्सार कार्यालय समेत केही दिनदेखि सुनसान छ।

सिमानामा घर भई भारतका बिभिन्न क्षेत्रमा अध्ययन गर्दै आएका विद्यार्थीलाई समेत अविभावकले घर फिर्ता गर्न थालेका छन्। बजारका स्थानीय भने सीमा क्षेत्र भएकाले उक्त रोगको प्रकोप फैलन सक्ने भन्दै थप त्रसित भएका छन्। फागुन २२ बाट सुरु गरिएको हेल्प डेक्समा हालसम्ममा सात हजार बढीको तापक्रम जाँच भई सकेको डेक्समा खटिएका स्वास्थ्यकर्मी अनिस श्रेष्ठले जानकारी दिए। हेल्प डेस्कका लागि यहाँ ६ स्वास्थ्यकर्मी परिचालन गरिएको छ। हेल्प डेस्कमा कसैमाथि कोरोनाको आशंका भए तत्काल तोकिएको स्थानमा पुर्याउन एम्बुलेन्ससमेत तयार रहेको सूर्योदय नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख धनराज यादवले बताए।

दुईवटा ‘थर्मल गन’ प्रयोग गरी यहाँ दिनहुँ करिब ७ सय जनाको तापक्रम जाँच भइरहेको छ। शनिबारसम्म दैनिक सात सय बढी मानिस नेपाल प्रवेश गरेको नाकामा आइतबार दुई सयको संख्यामा मात्र मानिस नेपाल प्रवेश गरेका छन्। भारत प्रवेश गर्नेको भारततर्फ नै ज्वरो नाप्ने काम गरिँदै आएको छ। भारत प्रवेश गर्नेको संख्या पनि घटेको छ। दुवै देशका अधिकारीले सिमानामा उच्च निगरानी र सजकता अपनाएको बताएका छन्।