पान्दाम : इलामको सूर्योदय नगरपालिका–९ पान्दाममा जारी छैटौ संस्करणको सुन्दरपानी ओपन नकाउट फुटबल प्रतियोगिताले नयाँ च्याम्पियन पाउँदै छ । पाहुना टोली मानेभञ्ज्याङ एफसी दार्जिलिङ र जनता सेभेन फिक्कल बिच पान्दाम खेलमैदानमा उपाधि छिनोफानो हुँदै छ । नेपाल र भारतका २३ टिम सहभागीता प्रतियोगितामा फिक्कलले प्लेइङ सेभेन मंगलबारेलाई टाइव्रेकरमा ३–१ गोल अन्तरले हराउदै फाइनल सुरक्षित गरेको हो । त्यसैगरी पाहुना टोली दार्जिलिङले सेमीफाइनलमा डिएससी रुङसुङलाई ५–३ गोल अन्तरले पराजित गरेको हो ।
मिलिनियम फ्रेन्डस क्लब, स्माइल युथ क्लब र न्यु जेनेरेसन स्टार क्लबको आयोजनामा फागुन १० गतेबाट जारी प्रतियोगिताको बिजेताले नगद १ लाख, उपविजेताले ६० हजार र सेमीफाइनललिष्ट टिमलाई जनही १०/१० हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको पहिलो संस्करण समृद्ध फुटबल क्लब रम्फोकले जितेको थियो । दोश्रो संस्करण भेनस सुन्दरपानी, तेश्रो संस्करण किरात सेभेन सल्लेरी, चौथो संस्करण युनाइटेड एफसी मंगलबारे र पाँचौ संस्करण आयोजक टिमले जितेको थियो ।
पान्दाम खेलमैदानमा बर्षेनी आयोजना हुने फुटबल प्रतियोगितामा नेपाल र भारतका विभिन्न टिमहरुको सहभागीता रहदै आएको छ । फुटबल खेलको माध्यमबाट दुई देशको मित्रताको सम्वन्ध कायम हुनेमा विश्वास लिएको आयोजक मिलियन फ्रेण्ड्स क्लब सचिव सोनाम योल्मोले बताए । साथै प्रतियोगिता समापनमा १ लाख फुल हाउस राशीको हाउजी खेल समेत संचालन हुनेछ ।