बिराटनगर । प्रदेश सरकारका मन्त्रीहरु हरेक दिन व्यस्त रहन्छन् । मन्त्रालयका कामबाहेक विभिन्न कार्यक्रमको उद्घाटन, शिलान्यास र गोष्ठिहरुमा मन्त्रीहरुको दौडधुप चलिरहन्छ । गृहजिल्ला पाँचथर र मन्त्रालय बाहेक बाहिरका कार्यक्रमहरुमा आक्कलझुक्कल मात्र देखिने प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ‘मौसम’ मंगलबार इलामको चुलाचुलीमा एक बंगुर फार्ममा पुगे । उनी फार्ममा मात्र पुगेनन् त्यहाँ रहेका बंगुरहरुलाई रोगबाट जोगाउन स्वाईन फिबरको खोपसमेत आफैले लगाए ।
तराईका जिल्लाहरुमा होली पर्व धुमधामसँग मनाइरहेका बेला मन्त्री आङ्बोले दिनभर बंगुर स्यर्हानमै बिताए । विभिन्न रंगले लत्पतिएका अनुहार र जमघटका फोटाहरु सामाजिक सञ्जालमा भरिरहँदा मन्त्री आङ्बोले टिसर्ट लगाएर फार्ममा रहेका बंगुरलाई इन्जेक्सन लगाएको फोटोले चर्चा पायो । मन्त्री आङ्बोको कृषिमोह नयाँ भने होइन । उनले ८ वर्ष अगाडि नै राजनीतिक जीवनलाई सहज बनाउन उत्पादनमा लाग्ने निर्णयसहित कृषिकर्म सुरु गरेका थिए । बैंकबाट ऋण लिएर पूर्वपश्चिम राजमार्गमा पर्ने झापाको केर्खादेखि उत्तरमा पर्ने इलामको चुलाचुली १ मा उनले बंगुर फारम सञ्चालन गर्दै आएका छन् । मन्त्री हुँदा व्यस्त भएपछि फार्ममा समय दिन नपाएको बेला होलीको विदालाई सदुपयोग गर्दै उनी मंगलबारको दिन फार्ममा नै व्यस्त रहे ।

कम्तिमा दुई–तीन महिनामा एक पटक फार्म पुग्ने मन्त्री आङ्बो उपलब्ध समय फार्ममै बिताउन रुचाउछन् । आफूले यूट्यूबाट सिकेका फार्मको आधुनिकिकरण, पौष्टिक आहार र प्रविधिका विषयमा श्रीमतीसँगै कर्मचारीलाई सिकाएर फर्म चलिरहेको छ । होलीको दिन पनि वर्षमा दुई पटक लगाउनुपर्ने स्वाइन फिबरको भ्याक्सिन लगाउन उनी फार्ममा आफै पुगे ।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट ऋण लिएर २०६८ सालमा आङ्बोले स्थापना गरेको मिक्लाजुङ कृषि फार्ममा अहिले ३०० बंगुर छन् । १ सय माउ बंगुरबाट उत्पादित २०० बच्चासहितको फर्ममा अहिलेसम्म २ करोड रुपैयाँभन्दा बढि लगानी भएको आङ्बोले बताए अहिलेसम्म जेनतेन परिवारको गुजारा चलाएर बैंकको ब्याज तिर्दै आएको फार्म अब भने नाफामा जान थालेको उनको भनाई छ ।
श्रीमती कुमारी लावतीको रेखदेखमा सञ्चालन हुने फार्मकै आयआर्जनबाट मन्त्री हुनु अगाडिसम्म उनको परिवार धान्ने र छोराको अध्ययन खर्च समेत जुटाउने गरेका थिए । फार्मबाट वार्षिक ६० लाख बढिको कारोबार हुँदै आएको छ । उन्नत जातका लेण्डरस, हेमसागर, योक्सायर, डुयुरोक, बक्सारलगायत बंगुरहरु रहेको फार्ममा ३ जनाले रोजगारीसमेत पाएका छन् । औपचारिक अध्ययन र तालिम नभएपनि युट्युबहरु हेरेर सिकेको प्रबिधि फर्मममा प्रयोग गरिहको आङ्बोले बताए ।

मन्त्री आङ्बोको मिक्लाजुङ कृषि फार्म देशकै ठूला बंगुर फार्ममध्येको एक हो । तर, त्यसमा अहिलेसम्म सरकारी तवरबाट कुनै सहयोग र अनुदान नलिएको उनी बताउँछन् । मासुको लागि ठूला र पाठापाठीको कारोबार हुने फार्मबाट स्थानीय बजार, भारत र भुटानसम्म बंगुर पुग्ने गरेको छ । राजनीतिलाई पेशा र व्यवसायको रुपमा होइन सामाजिक सेवाको रुपमा समर्पित गर्नुपर्ने सोचसहित बंगुरपालन सुरु गरेको मन्त्री आङ्बोले बताए । ‘हरेक राजनीतिज्ञ कुनै न कुनै आयआर्जन गर्ने पारदर्शी व्यवसायमा जोडिनुपर्छ, उनले भने , ‘त्यसो भयो भने मात्र हामीमाथि उठ्ने प्रश्नको जवाफ हुनेछ र आम नागरिकलाई समृद्धिको यात्रामा एकसाथ हिँडाउन सकिन्छ ।’ हाम्रो मतबाट साभार